काठमाडौं ।
यसपालि तिहारको पात्रो उल्टोपाल्टो परेको छ। कात्तिक ६ गते काग तिहारबाट यमपञ्चक सुरू हुन्छ। सामान्य अवस्थामा त्यसको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजाको साइत पर्नेमा यसपालि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
सामान्यतया लक्ष्मीपूजाकै दिन बिहान गाई तिहार मनाएर साँझ लक्ष्मीपूजा मनाइन्छ। यसपालि भने लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कात्तिक ८ गते मंगलबार मात्र गाई तिहार परेको छ।
पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले औंसीले लक्ष्मीपूजाको साइत निर्धारण गर्ने बताए। ‘औंसी तिथि साँझ र बिहान जुन दिन हुन्छ, त्यही दिन लक्ष्मीपूजा गरिन्छ,’ उनले भने।
कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले अपराह्न ४:५२ बजे स्पर्स गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक ढुंगेलले जानकारी दिए।
उनका अनुसार नेपालबाट करिब ३२ मिनेट मात्र ग्रहण देखिन्छ। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्ने छ। यसरी मंगलबार ग्रहण लाग्ने भएकाले नै सोमबार राति लक्ष्मीपूजा तोकिएको उनले उल्लेख गरे। यसबारे ज्योतिषी शिव पोखरेलसँग कुरा गर्दा उनले पनि तिथिमा चाडपर्व मनाउने हुँदा यस्तो स्थिति आएको बताए।
‘लक्ष्मीपूजा गर्न चतुर्दशी व्याप्त औँसी पर्नुपर्छ,’ उनले भने, ‘चतुर्दशी सकिएपछि मात्रै औँसी लाग्छ। कात्तिक ७ गते साँझ ५:०४ बजे औँसी तिथि सुरू भएर ८ गते साँझ ४:३३ मा सकिन्छ। मध्यरात औँसी तिथि नपरेकाले लक्ष्मीपूजा अघिल्लो रात नै गर्नुपरेको हो।’
पोखरेलका अनुसार २०५२ सालमा पनि ग्रहण लागेका कारण लक्ष्मीपूजाको भोलिपल्ट गाईपूजा परेको थियो। ‘यो पहिलोपटक भएको होइन,’ उनले भने, ‘त्यो बेला सूर्यग्रहण बिहान थियो तर यसपटक बेलुकीदेखि ग्रहण सुरू भएको छ।’