मोहिनी एकादशी, यी चीजहरू दान गर्नुपर्छ

Image
तस्वीर ; हाम्रो पात्रो

काठमाडौँ । वैशाख शुक्ल पक्षको एकादशी तिथिमा भगवान् विष्णुले मोहिनीको रूप धारण गरेका हुनाले यो एकादशीलाई मोहिनी एकादशी भनिन्छ । मोहिनी एकादशीको व्रत र भगवान् श्रीहरि विष्णुको आराधना गर्नाले पाप, कष्ट, लोभ र आशक्तिको नाश हुन्छ । मोहिनी एकादशीमा दान गर्नाले पुण्यकर्म मात्र प्राप्त हुँदैन, जीवनमा सुख-समृद्धि र जीवनमा आउने समस्याबाट मुक्ति मिल्छ।

यदि तपाईँ मोहिनी एकादशीको व्रत बस्दै हुनुहुन्छ भने, तपाईँले आफ्नो क्षमता अनुसार दान गर्न सक्नुहुन्छ। कुनै पनि खाँचोमा परेका व्यक्तिलाई दान गर्न सकिन्छ। दान गर्दा, दान गरिएको वस्तुको शुद्धतामा ध्यान राख्नुहोस्। यो पनि ध्यानमा राख्नुहोस् कि परोपकार पुण्य प्राप्त गर्न मात्र होइन खाँचोमा परेकाहरूलाई मद्दत गर्न पनि गरिन्छ। तपाईँको एकादशी व्रत दान गरेपछि मात्र पूर्ण मानिन्छ।

वर्षका अन्य सबै एकादशीहरू झैँ मोहिनी एकादशीको पनि अलग महत्त्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी हुने मान्यता छ ।अन्य एकादशीहरू झैँ यो एकादशीमा पनि बिहानै नुहाई–धुवाई गरेर भगवान् विष्णुको अर्चना र पूजा गर्ने चलन छ । विष्णु सहस्त्रानाम पाठदेखि हरि कीर्तनसम्म गर्ने, एकादशी महत्मयको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ ।

मोहिनी एकादशीको व्रत कथा

किंवदन्ती अनुसार, सरस्वती किनारमा एउटा राज्य थियो, जसमा एक जना चन्द्रवंशी राजा राज्य गर्थे । यसै राज्यमा एक जना वैश्य अर्थात् व्यापारी बस्थे, जसको नाम थियो धन पाल । उनी पुण्य–कार्य अनि दानमा लागिपरेकै हुन्थे । धन पालका ५ छोराहरू थिए, जसमा कान्छो छोरा पाप कर्ममा लागेका थिए । जुवा तास अनि वेश्या गमनमा उनी आशक्त थिए भने दुर्व्यसनमा उत्तिकै लालायित पनि ।

धन पालले केही नलागेपछि आफ्नो मनमा पत्थर राखेरै भए पनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घर निकाला गर्न पुगे । भोजन र छतको अभावमा धन पालका कान्छा छोरा महर्षि कौडिन्य कहाँ पुग्छन् । महर्षि कौडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धन पालका कान्छा पुत्रले आफ्ना आशक्तिबाट मुक्ति पाएको विश्वास गरिन्छ ।