हेटौंडामा आयोजित शिव महापुराणबाट ५६ लाखभन्दा बढी रकम संकलन

Image

हेटौंडा/ राधा फाउन्डेसन र पुराण आयोजक समितिको संयुक्त पहलमा हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा वैशाख २ गतेदेखि १३ गतेसम्म सम्पन्न शिव महापुराण धार्मिक कार्यक्रमबाट ५६ लाख ८९ हजार ८ सय २२ रुपैयाँ संकलन गरिएको छ।

झापाको कन्काइ–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाको शिक्षादिक्षा तथा कल्याणका लागि आयोजना गरिएको उक्त महापुराणबाट ३४ लाख २७ हजार १ सय ७१ रुपैयाँ नगद उठेको र बाँकी २२ लाख ६२ हजार ७ सय २२ रुपैयाँ संकलन प्रक्रियामा रहेको भागवत् वाचिका राधिका दासीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन्।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा ४० लाख ८२ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

मातातिर्थ औंसीको अवसर पारेर हेटौंडाका १०० जना आमाहरूलाई नगदसहित सम्मान गरिएको समेत जानकारी उहाले दिनुभयो साथै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मामाघर नेपाललाई कार्यक्रममा संकलन भएको दाल, चामल, नुन, तेल, तरकारी लगायत २१ हजार नगद सहयोग गरिने दासीले जानकारी दिनुभयो।

यस्तै संकलित रकमबाट रंगशालालाई २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको वडाध्यक्ष तथा कार्यक्रम संयोजक सुशील घिमिरेले बताए।

राधा फाउन्डेसनले आफ्नै भवन नभएको अवस्थामाझ झापाको कन्काइमा घर भाडामा लिएर १५ बालबालिकालाई अंग्रेजी माध्यमबाट अध्यापन गराइरहेको छ भने ३५ जना बालबालिकालाई काठमाडौंका विभिन्न विद्यालयमा आवासीयरूपमा शिक्षादिक्षा दिइँदै आएको जनाइएको छ।