बैतडी । बैतडीमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।
यिनैमध्ये बैतडीको पाटन नगरपालिका वडा न. ८ मा रहेको सिद्धनाथ झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । खोड्पे बजार नजिकै रहेको यो झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् ।
प्राचीन सिद्धनाथ मन्दिरको छेउमै बग्ने भएकाले स्थानीयले यो झरनाको नाम सिद्धनाथ झरना राखेको हो । सिद्धभगवती, सिद्धनाथ र गोफाकेदारको मन्दिर समेत रहेको यो झरना परापूर्वकालमा ओखलेश्वर महादेवमा गरिएको पूजा सिद्धनाथ झरना सम्म आइपुग्ने गरेको किम्बदन्ती रहेको छ । 
दशरथचन्द राजमार्ग अन्तर्गत खोड्पे बजार नजिकै रहेको यो झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय खडक ऐरले बताए । उनले भने ‘प्राचीन सिद्धनाथ मन्दिरको छेउमै रहेको यो झरना लोभलाग्दो छ । सिद्धनाथ मन्दिरमा पूजाआजा गर्दा सो झरनाको पानीले स्नान गर्ने चलन समेत रही आएको छ । तर प्रचारप्रसार नहुँदा झरना ओझेलमा परेको छ ।’
सिद्धनाथ झरना एक अद्भुत प्राकृतिक सौन्दर्य हो। यो झरना प्राकृतिक र धार्मिक दुवै दृष्टिकोणले महत्वपूर्ण रहेको छ । सिद्धनाथ झरनासंगै रहेको मन्दिरमा पूजाआजा, दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
प्राकृतिक आकर्षण मात्र नभई हिन्दु धर्मालम्बीहरूको लागि धार्मिक स्थल समेत रहेको यो झरनाका बिषयमा स्थानीय सरकारले समेत चासो नदेखाएका कारण ओझेलमा परेको ऐरले बताए । उनले भने ‘स्थानीय सरकारले यसको प्रचारप्रसारमा ध्यान दिन सकेमा धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । आन्तरिक पर्यटकहरुका लागि यो उपयुक्त गन्तव्य हुन सक्छ ।’
सिद्धनाथ मन्दिरमा हिन्दू परम्परा अनुसार विवाह ब्रतबन्ध गर्ने चलन रही आएको छ । तर बाटोघाटो असुविधाले सबै त्यहाँ पुग्न नसकेको स्थानीयहरुले गुनासो समेत गरेका छन्। सिद्धनाथ झरना नजिकै धर्मशाला पनि रहेका छन तर ती धर्मशालाहरु संरक्षण नहुँदा जीर्ण भईसकेका छन । पाटन नगरपालिका वडा न. ८ को कार्यालय नजिकै भएपनि अहिलेसम्म सो स्थान सम्म पुग्नका लागि बाटोघाटो र सडकको व्यवस्था गरिएको छैन् ।













