बैतडी: बैतडी जिल्ला क्रिकेट संघको अधिवेशन यही जेठ २२ गते सदरमुकाम गोठलापानीमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (CAN) को निर्देशन अनुसार अधिवेशन आयोजना गर्न लागिएको संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनका लागि नेपाल क्रिकेट संघको विधान बमोजिम जिल्ला क्रिकेट संघमा आबद्ध सम्पूर्ण साधारण सदस्य, संघसँग आबद्ध क्लब, नेपाल क्रिकेट संघबाट मान्यता प्राप्त प्रशिक्षक, अम्पायर, खेलाडी, स्कोरर लगायत सम्बन्धित व्यक्तिहरूको सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन आग्रह गरिएको छ।
जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दका अनुसार आज सूचना प्रकाशित गर्दै १५ दिनभित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन आग्रह गरिएको हो।
सदस्यता प्राप्तिका लागि नेपाल क्रिकेट संघ वा राष्ट्रिय खेलकुदबाट आयोजित तीन अलग-अलग वर्षमा कम्तीमा ३ वटा सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका महिला तथा पुरुष खेलाडी, अन्तर्राष्ट्रिय सिनियर क्रिकेट खेलेका पूर्व खेलाडी, साथै ICC, ACC वा नेपाल क्रिकेट संघबाट आयोजित लेभल–१ तालिम प्रमाणपत्र प्राप्त अम्पायर, प्रशिक्षक तथा स्कोरर योग्य हुनेछन्।
त्यसैगरी वर्तमान जिल्ला क्रिकेट कार्यसमिति सदस्य, पछिल्लो ८ वर्षमा जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा कम्तीमा २ पटक सहभागी भएका क्लबहरू तथा नियमित नवीकरण भएका संस्थाहरू पनि योग्य रहने जनाइएको छ।

















