हेटौंडा/ हेटौंडा–१५ मा आयोजित चौथो वडा अध्यक्ष स्तरीय साविक वडा नकआउट फुटबल प्रतियोगिताको उपाधि चुरियामाई–३ (रातोमाटे) ले जितेको छ। श्री टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–१५ को आयोजनामा तथा वडा कार्यालयको प्रायोजनमा सम्पन्न प्रतियोगिताको फाइनल खेल आज चुरियामाई–५ (फायर लाइन) र चुरियामाई–३ बीच रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको हो।
प्रतियोगितामा कुल ७ वटा टिमको सहभागिता रहेको थियो। नकआउट चरण हुँदै फाइनलसम्म पुगेको प्रतियोगिता अन्तिम खेलमा पुग्दा निकै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयभर आक्रामक शैलीमा खेलिएको फाइनलमा चुरियामाई–३ ले उत्कृष्ट समन्वय र प्रभावशाली आक्रमण प्रदर्शन गर्दै चुरियामाई–५ लाई ३–२ गोल अन्तरले पराजित गर्यो। खेलभर दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि चुरियामाई–३ ले निर्णायक क्षणमा अग्रता जोगाउँदै उपाधि सुनिश्चित गरेको हो।
प्रतियोगितामा विजेता चुरियामाई–३ ले रु. ६५ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चुरियामाई–५ ले रु. ३५ हजार नगद पुरस्कार पाएको छ। फाइनल खेलपश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू सिंह बल र मिनु विश्वकर्मा, टोल विकास संस्थाका अध्यक्षहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व सिंह बहादुर विश्वकर्माले गर्नुभएको थियो। वडा अध्यक्ष मुक्तानले प्रतियोगिताले स्थानीय खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा समुदायबीच आपसी एकता र सहकार्यलाई अझ मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

















