हेटौडा/ हेटौंडा उपमहानगरपालिका–१३ मा छैटौं मेयरकप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा ले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले उपमहानगरले खेलाडी उत्पादन तथा खेलकुद विकासलाई प्राथमिकता दिँदै हरेक वर्ष मेयरकप प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो।
प्रतियोगितामा उपमहानगरका १५ वटा वडाको सहभागिता रहेको छ।
उद्घाटन खेलमा वडा नं. ७ ले वडा नं. १६ लाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
प्रतियोगिताका विजेता टोलीले नगद २ लाख रुपैयाँ तथा उपविजेता टोलीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। हेटौंडामा सञ्चालन हुने मेयरकप प्रतियोगितामा विजेता र उपविजेताका लागि यस्तै पुरस्कार व्यवस्था गरिएको जानकारी यसअघि पनि सार्वजनिक गरिएको थियो।
उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, जनप्रतिनिधि, खेलकुदकर्मी तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
















