Khabar Board

ट्वान्टी–२० स्वरूपमा हुने प्रधानमन्त्री कपमा आज चार खेल

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता खासमा एकदिवसीय स्वरूपमा हुने प्रतियोगिता हो । तर, यो पटक ट्वान्टी–२० स्वरूपमा आयोजना हुँदै छ ।

१० दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन चार खेल हुँदै छन् । कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी क्रिकेट मैदानमा दुई खेल हुनेछन् । १० मध्ये आठ दिन खेल हुनेछन् । बाँकी दिन ‘रेस्ट डे’ छ । १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियागितामा चार दिन चार खेल हुनेछन् । बाँकी दिन तीन दिन दुई खेल हुनेछन् भने एक दिन फाइनल छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा हुने प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले हतारहतार गरेर चाँडै टुंग्याउन खोजेको छ । त्यसका लागि क्यानले बाहना पाएको छ, ओमानमा फेब्रुअरीमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर ।

ग्लोबल क्वालिफायरका लागि क्यानले प्रधानमन्त्री कपलाई खेलाडी छनोटको माध्यमका रूपमा लिएको छ । त्यसैले त क्यानले एकदिवसीय स्वरूपमा हुने प्रतियोगितालाई ट्वान्टी–२० स्वरूपमा परिवर्तन गरेको छ ।

वास्तवमा राखेपले ०७४ मा प्रधानमन्त्री कप सुरु गर्दा क्यान निलम्बनमा थियो । त्यति बेला निजी क्षेत्रले ट्वान्टी–२० प्रतियोगिता मात्र गर्ने गर्थ्यो । त्यो अवस्थामा सरकारी निकायबाट लामो स्वरूपको क्रिकेट गर्नुपर्छ भनेर एकदिवसीय स्वरूपमा प्रधानमन्त्री कप आयोजना गरिएको थियो ।

तर, क्यानले यसपटक ग्लोबल क्वालिफायरको बाहनामा प्रधानमन्त्री कपलाई पनि ट्वान्टी–२० स्वरूपमा बदलिदिएको छ । यसले क्यान नेतृत्वमाथि थुप्रै प्रश्न खडा भएका छन् ।

प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेश समूह ‘ए’ मा छन् । एपीएफ, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर-२ समूह ‘बी’ मा छन् । लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता आर्मी र कर्णाली प्रदेशबीच त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । सोही मैदानमा दोस्रो खेलमा एपीएफ र प्रदेश-२ बीच प्रतिस्पर्धा हुनेछ । मूलपानी क्रिकेट मैदानमा पहिलो खेल नेपाल पुलिस र सुदूरपश्चिमबीच हुनेछ । दोस्रो खेलमा वाग्मतीले लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.