काठमाडौं ।
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इंग्ल्याण्डको १०० बलको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता द हण्ड्रेडको ड्राफ्टमा परेका छन् । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुँदै आएको यो प्रतियोगितामा सन्दीप तेस्रोपल्ट ड्राफ्टमा परेका हुन् । ड्राफ्ट आगामी सोमबार हुनेछ ।
ड्राफ्टमा सन्दीप ६० हजार पाउण्डको क्याटागोरीमा परेका छन् । यो क्याटागोरीमा वेष्ट इण्डिजका शिमरोन हेटमायर, अष्ट्रेलियाका केन रिचर्डसन, एडम जाम्पालगायत खेलाडी छन् ।यसपालि अनुबन्ध भए सन्दीपले ९५ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् ।
१६ देशका २८४ जना खेलाडीलाई ड्राफ्टमा समावेश गरिएको बीबीसीले जानकारी दिएको छ । हरेक टोलीमा १५ जना खेलाडी हुनेछन् । आगामी प्रतियोगिताका लागि सहभागी आठवटै टिमले अधिकांश खेलाडी रिटेन गरेका छन् । त्यसैले सोमबारको ड्राफ्टमा ४२ खेलाडीका लागि मात्र स्थान मिल्नेछ ।
सन् २०२० का लागि तय भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो । सन्दीप ओभल इन्भेन्सीवल्सका लागि ड्राफ्टबाट अनुबन्धित भएका थिए ।
कोरोनाका कारण सरेको प्रतियोगिता गत असारमा आयोजना भएको थियो । ६० हजार पाउण्डमा अनुबन्धित भएका सन्दीप इंग्ल्याण्ड पुगेर पनि भिसा समस्याका कारण प्रतियोगिताबाट बञ्चित भएका थिए ।
यो पनि पढौं– एक खेल अगावै टाेली सिरिजको फाइनल पुगेपछि के भन्छन् सन्दीप?
यो पनि पढौं– पहिलोपटक ह्याट्रिकसहित ५ विकेट लिएपछि यस्तो भन्छन् करण केसी