काठमाडौं ।
त्रिवि मैदानमा जारी नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो दुई खेलमा १८ वर्षीय मोहम्मद आदिल आलमले प्लेइङ–११ मा अवसर पाएनन् । तर, तेस्रो खेलमा भने उनले मौका पाए । आदिलले कुशल मल्लको स्थानमा मौका पाएका हुन् ।
घरेलु क्रिकेटमा आक्रामक ब्याटरको परिचय बनाएका उनले पिएनजीविरुद्धको डेब्यू खेलमा पनि त्यही लय कामय राखे । पाँचौं नम्बरमा ब्याटिङको मौका पाएका आदिलले खेलमा ११ बलमा ३१ रन बनाए । जसमा उनले १ चौका र ३ छक्का प्रहार गरे ।
उनी मैदान छिर्दा नेपाल १५ ओभर चलिरहेको थियो । नेपालले ३ विकेट गुमाएर १२३ रन जोडेको थियो ।
त्यसपछि उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे । उनले र दीपेन्द्रले ४.४ ओभरमा ७७ रन बनाएका थिए ।
आदिलले १९औं ओभरमा लगातार तीन छक्का हिर्काए । पिएनजीका पोकनाविरुद्ध उनले दोस्रो बलमा पहिलो छक्का हिर्काएका थिए । लगत्तैको बल नोबल हुँदा त्यसमा पनि उनले छक्का हिर्काए । त्यसपछि फ्रिहिटमा उनले अर्को छक्का प्रहार गरेका थिए ।
पहिलो बलमा पनि चौका र चौथो बलमा तीन रन लिएका उनले ओभरको चार बलमा २६ रन जोडेका थिए । उनी अन्तिम ओभरको दोस्रो बलमा पिएनजीका मोरिआको बलमा एलबिडब्लूको धरापमा पर्दै पेभिलियन फर्किएका थिए ।
खेलपछि के भन्छन् आदिल?
उनले मैदान छिर्दा आफ्नो ‘नेचुरल खेल’ खेल्ने सोचेर गएको प्रतिक्रिया दिए । ‘मैदान जादा खासै केही सोचेर गएको थिइन। आफ्नो खेल खेल्छु भन्ने मात्र थियो। विकेट गएको अवस्था थियो । इनिङ्ग्सलाई माथि लैजानु पर्ने अवस्था थियो। अन्तिममा राम्रो बल पाएकाले रन प्रहार गरे,’ उनले म्याच सकिएपछि सञ्चारकर्मीसँग भने ।
सुरूकै बलमा एक रन लिएका उनले सुरुवाती ५ बलमा ६ रन मात्र जोडेका थिए । छैटौं बलदेखि भने उनी आक्रामक रूपमा प्रस्तुत भएका थिए । ‘पहिलो रन लिएपछि आत्मविश्वास बढ्यो। राम्रो खेल्ने आसा बोकेर गएको थिए । डेब्यूमै राम्रो ब्याटिङ गर्न सक्दा एकदमै खुसी लागेको छ,’ उनले डेब्यू खेलमा आफ्नो ब्याटिङबारे अघि भने, ‘लगातार हान्ने कन्डिसन थियो । त्यसैले हानेको हुँ । तीनवटा छक्कामध्ये मलाई हेलिकोप्टर सट एकदमै मन परेको छ ।’
हेलिकोप्टर सट भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले चर्चामा ल्याएका हुन् । डेब्यूमै हेलिकोप्टर सर्ट हिकाउँदै ब्याटिङ गरेका आदिलको तुलना धेरैले धोनीसँग पनि गरेका छन् । सामाजिक सञ्जालमा एक समर्थकले लेखेका छन्, ‘आदिलले डेब्यूमै साँच्चिकै उत्कृष्ट ब्याटिङ गरे, आत्मविश्वासका साथ उनले खेलेको पारी प्रशंसा गर्नलगायक छ । उनको हेलिकोप्टर सटले त धोनीकै झल्को दिलायो ।’
आफूले धेरै मिहिनेत गरेको भन्दै उनले अन्तर्राष्ट्रिय लेभलमा यति चाँडै आउछु भनेर नसोचेको बताए । उनले भने, ‘चाँडै भयो जस्तो लाग्छ ।’ आदिलले अगाडि भने, ‘राष्ट्रिय टिममा पनि ठूला सट प्रहार गर्न अलि दबाब त थियो। तर मैले त्यसका लागि अभ्यास गरेको थिए । मलाई जानेबित्तिकै हान्न सजिलो हुन्छ, टिमले मलाई एकछिन खेललाई अघि बढाउने अनि हान्ने रोल दिएको थियो ।’
यो पनि पढौं– दीपेन्द्र र आदिलले जब २ ओभरमै ५६ रन बनाए…
यो पनि पढौं– सन्दीप यसपालि पनि ‘द हन्ड्रेड’को ड्राफ्टमा, बिक्री भए पाउने छन् लाखौं पारिश्रमिक













