दीपेन्द्रमाथि करणको त्यो विश्वास, अनि पूरा भयो सपना

Image

काठमाडौं ।

घरेलु मैदानमा जारी टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाललाई ३७ रनले जिताउनमा अलराउन्डर करण केसी ‘नायक’ सावित भए । अझ भनौं तेस्रो खेल करणमय भयो । उनले खेलमा ब्याटिङबाट योगदान दिन नसके पनि बलिङमा भने शानदार प्रदर्शन गरे ।

करणले बलिङमा ह्याट्रिकसहित कूल ५ विकेट लिए । उनले अन्तिम ओभरमा चाड सोपर, सिमन अताइ र नोसेना पोकवानालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । योसँगै करण नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् ।

साथै, तेस्रो खेलमा पनि करणले लेगा सियाका र कप्तान असद भालालाई एक÷एक रनमा आउट गर्दै शानदार सुरुवात दिलाए । उनले ३.४ ओभरमा २१ रन दिएर ५ विकेट लिए । टी–२० मा करणको यो हालसम्मकै उच्च बलिङ प्रदर्शन पनि हो ।

नेपालको जितमा ‘नायक’ सावित भएका करणले खेल सकिएपछि प्रतिक्रिया दिएका छन् । खेलपछि उनले पिएनजीविरूद्धको आफ्नो बलिङलाई विशेषको संज्ञा दिए ।

‘मेरो लागि यो ह्याट्रिक विशेष हो । यो मेरो टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ हो । खुसी लागिरहेको छ । अब भविष्यमा अझै चार/पाँच वटा ह्याट्रिक गर्ने प्रयास गर्छु,’ करणले खुसी साटे । नेपाली बलरको टी–२० को उत्कृष्ट बलिङ यहीँ नै हो भन्ने उनलाई खेलका दौरान भने थाहा थिएन ।

‘यो बलिङ प्रदर्शन नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो भन्ने थाहा थिएन । म आफ्नो उत्कृष्ट खेल्ने कोशिस गरिरहेको थिएँ,’ उनले भने । २०औं ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएपछि ह्याट्रिक लिने अवसर आएको थियो । ह्याट्रिक बलमा नेपाल फिल्डिङमा केन्द्रित भएको उनको भनाइ छ ।

‘सबैले फिल्डिङ प्लान नै गरिरहेका थिए । मैले पनि ब्याट्सम्यानले डिफेन्स गर्छ होला भनेर सोचिरहेको थिएँ । स्लो बल फालौं भन्ने थियो,’ उनले ह्याट्रिक गर्नुअघिको क्षण सम्झिए । चौथो बलमा पिएनजीका ब्याटरले सट हान्नेबित्तिकै करणले सेलिब्रेसन गर्न थालेका थिए । यसबारे उनले भने, ‘किनभने फिल्डर दीपेन्द्र थिए । अरू कोही भएको भए कुर्थे होला । तर, दिप्पी भएर सेलिब्रेट गर्न थालेको हुँ ।’

बलिङसँगै करण बिस्फोटक ब्याटिङ पनि गर्छन् । पछिल्ला वर्षमा उनलाई नेपाली टिमले बलर अलराउन्डरको रूपमा टिममा राखेको छ । जसमा उनी सफल समेत भएका छन् । ‘तीन चार वर्षदेखि लगातार टी–२० खेलिरहेका छौं। घरेलु प्रतियोगितामा पनि टी–२० खेलियो । यसले अभ्यास पनि भइरह्यो। टी–२० खेलमा मुड पनि बनिरह्यो,’ उनले आफ्नो बलिङबारे अघि भने, ‘बलिङमा भेरियसनहरू प्रयोग गर्नु पर्‍यो । सुरुवातमा कस्तो बलिङ गर्ने योजना बनाउनु प¥यो। घरेलु टी–२० को अनुभवले गर्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फाइदा पुगेको छ ।’

उनले बलिङभन्दा आफूलाई ब्याटिङ गर्दा मज्जा आउने पनि बताए । ‘बलर भएको कारणले होला ब्याटिङ गर्दा मज्जा आउछ। तर दुवैमा फिनिसिङ गर्ने मेरो प्रयास हुन्छ,’ उनले भने, ‘ब्याटिङमा अन्त्यतिर आउँछु। क्लिक ग¥यो भने राम्रो हुन्छ नत्र नराम्रो हुन्छ । म सधैं बलिङ र ब्याटिङमा फिनिस गर्न प्रयास गरिरहेको हुन्छु ।’ ५० विकेट पार गरेका करणले भविष्य अरू रेकर्ड पनि बनाउने बताए।

‘५० विकेट लिन्छु भन्ने केही सोचेको थिएन। क्रिकेट खेल्ने हो, जहाँसम्म पुगिन्छ पुगिन्छ भन्ने लागेको थियो। भविष्यमा कति रेकर्ड बन्छ, कति भंग हुन्छ,’ उनले भने । फरक प्रसंगमा उनले गत महिना ओमान भएको टी–२० विश्वकप छनोट चोटका कारण गुमाउन परेकोमा दुःख व्यक्त गरे ।

‘टी–२० विश्वकप छनोट चोटका कारण गुमाए । खेल्न सक्ने अवस्थामा थिइनँ । गाह्रो पनि भइरहेको थियो । खेल्नलाई प्रयास गरिरहेको थिएँ, तर पनि खेल्न सकिरहेको थिइनँ । उपचार पनि धेरै गरिसकेको थिएँ,’ उनले भने ।

यो पनि पढौं– करण पनि अब मलिंगाको क्लबमा, यी हुन् टी-२० मा ह्याट्रिक लिने २७ बलर

यो पनि पढौं– १८ वर्षीय आदिल आलम, जसको तुलना हुँदैछ धोनीसँग

यो पनि पढौं– दीपेन्द्र र आदिलले जब २ ओभरमै ५६ रन बनाए…