‘त्रिकोणात्मक सिरिज’मा सर्वाधिक विकेटकर्ता : शीर्षमा करण, यस्तो छ अन्य बलरको स्थान

Image

काठमाडौं ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल, पपुवा न्यूगिनी (पिएनजी) र नेपालबीचको त्रिकोणात्मक टी–२० सिरिजमा ५ म्याच सकिसकेका छन् । यो अवस्थासम्म नेपालले फाइनलको यात्रा तय गरिसकेको छ । पिएनजी र मलेसियामध्ये एक टिम आज फाइनल पुग्नेछ ।

सिरिजको ५ म्याच सकिँदा सर्वाधिक विकेट लिने मामलामा नेपाली टिमका तीव्र गतिका बलर करण केसी शीर्ष स्थानमा छन् । उनले ३ खेलमा ७.५९ को इकोनमीमा सर्वाधिक १० विकेट लिएका छन् । जसमा करणको एक ह्याट्रिक पनि समावेश छ । उनले अघिल्लो खेलमा पिएनजीविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएका थिए ।

यो श्रृंखलामा करणकाे उत्कृष्ट बलिङ प्रदर्शन ३.४ ओभरमा ५ विकेट लिएर २१ रन दिनु हो । आज पनि आफ्नो लय कायमै राख्न सके करण सिरिजको अन्तिमसम्म सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् । त्यस्तै, यो सूचीको दोस्रो स्थानमा पिएनजीका काबुआ मोरिया छन् । उनले ३ खेलमा ८.१८ को इकोनमीमा ७ विकेट लिएका छन् ।

जारी सिरिजमा मोरियाको उच्च बलिङ स्पेल ४ ओभरमा २९ रन दिएर ४ विकेट लिनु हो । सर्वाधिक विकेट लिने मामलामा नेपाली कप्तान सन्दीप लामिछाने तेस्रो नम्बरमा छन् । उनले ३ खेलमा ७.१६ को इकोनमीमा ६ विकेट लिएका छन् । जारी श्रृंखलामा सन्दीपको उच्च बलिङ प्रदर्शन ४ ओभरमा २२ रन दिएर ३ विकेट लिनु हो ।

त्यस्तै, यो सूचीको चौथो र पाँचौं स्थानमा नेपालका अविनाश बोहरा र मलेसियाका वीरन्दीप सिंह रहेका छन् । यी दुवै बलरले समान तीन खेलमा पाँच/पाँच विकेट लिएका छन् । अविनाशले ७.४१ र वीरन्दीपले ८.७२ को इकोनमीमा पाँच/पाँच विकेट हात पारेका हुन् ।

सर्वाधिक विकेट लिने मामलामा छैटों, सातौं, आठौं, नवौं र दशौं स्थानमा क्रमशः मोहम्मद वाफिक (४), रिले हेकुरे (४), शर्विन मुनियान्दी, (४) नोमर्न भानुआ (४) र सोमपाल कामी (३ विकेट) रहेका छन् ।

यो पनि पढौं– त्रिकोणात्मक सिरिजमा सर्वाधिक रन : शीर्षमा उक्लिए उरा, यस्तो छ नेपाली ब्याटरको स्थान