नयाँ कीर्तिमान नजिक दीपेन्द्र, भोलि हासिल गर्न सक्लान्?

Image

काठमाडौं ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) को सामना गर्दैछ । नेपाल–पिएनजीबीचको फाइनल सोमबार मध्यान्ह साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । नेपाल सिरिजको चारवटै खेल जितेर फाइनल पुगेको हो ।

पिएनजी भने चारमध्ये एक खेल मात्र जितेर नेट रनरेटका आधारमा फाइनल प्रवेश गर्‍यो । उसले सिरिजमा नेपालसँगको दुई खेलमा हार बेहोर्दा चौथो खेलमा मलेसियालाई भने ८ विकेटले हरायो । पिएनजी पहिलो खेलमा मलेसियाविरुद्ध ८ रनले पराजित भएको थियो । यद्यपि उसले अन्तिम खेलमा भने मलेसियाविरुद्ध शानदार ब्याटिङ गर्‍यो ।

पिएनजीले आफ्नो चौथो खेलमा मलेसियाले दिएको १९७ रनको विशाल लक्ष्य १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । शानदार लयमा फर्किएको पपुवा न्यूगिनी एकदिवसीयपछि त्रिकोणात्मक टी–२० श्रृंखला पनि जित्न चाहन्छ । उसले टी–२० अघि नेपालविरुद्धको दुई खेलको वानडे सिरिज क्नि स्विप गरेको थियो ।

नेपाल भने पिएनजीविरुद्ध बदला लिने योजनामा छ । नेपालले पनि जारी सिरिजमा राम्रो प्रदर्शन गरिरहेको छ । यही श्रृंखलाअन्तर्गत घरेलु टोलीले पिएनजीलाई ३७ र दोस्रो खेलमा १५ रनले हरायो । साथै, पछिल्लो खेलमा नेपालले मलेसियालाई ३५ रनले हराएको थियो । नेपाल फाइनलमा पनि सोही लय कायम राख्न चाहन्छ ।

फाइनलमा नेपालले एक खेलाडी परिवर्तन गर्ने पक्का जस्तै छ । कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी प्लेइङ–११ मा फर्किने छन् । शनिबारको खेलमा फिल्डिङका क्रममा घाइते भएपछि कमलले फाइनल गुमाउने भएका हुन् । उनले खेल्दा मलेसियाविरुद्धको खेलमा सोमपालले विश्राम पाएका थिए ।

नयाँ कीर्तिमान नजिक दीपेन्द्र

नेपाली टिमका महत्वपूर्ण सदस्य दीपेन्द्रसिंह ऐरी नयाँ कीर्तिमान नजिक छन् । उनी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा १ हजार हजार रन पूरा गर्ने कीर्तिमान नजिक रहेका हुन् ।

सिरिजको फाइनलअघिसम्म ऐरीले ३३ पारीमा एक शतक र चार अर्धशतकको सहयोगमा ९७९ रन बनाएका छन् । यदि सोमबार उनले २१ रन बनाए टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने छन् । २२ वर्षीय ऐरी नेपालको तर्फबाट यो प्रारूपमा सर्वाधिक रन बनाउने ब्याटर पनि हुन् । साथै, टी–२० मा उच्च पारी खेल्ने नेपाली ब्याटरको रेकर्ड पनि दीपेन्द्रकै नाममा छ ।

यो पनि पढौं– २०२२ मा सर्वाधिक रन : शीर्षमा छन् दीपेन्द्र, यस्ताे छ स्टारको स्थान