Khabar Board

लखनऊले दियो हैदराबादलाई चुनाैतीपूर्ण लक्ष्य, राहुलले हासिल गरे महत्वपूर्ण उपलब्धि

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं खेलमा लखनऊ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई १७० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिआर डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनायो ।

उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धशतकीय पारी खेले । राहुलले ५० बलमा ६ चौका र एक छक्कासहित ६८ रन बनाए । योसँगै उनले टी–२० क्रिकेटमा नयाँ उपलब्धि हासिल गरेका छन् ।

राहुलले टी–२० क्रिकेटमा ५० अर्धशतक बनाउने छैटौं भारतीय ब्याटरको उपलब्धि हासिल गरेका हुन् । उनीभन्दा अगाडि विराट कोहली (७५), रोहित शर्मा (६९), शिखर धवन (६३), गौतम गम्भीर (५३) र सुरेश रैना (५१) ले टी–२० मा ५० भन्दा बढी अर्धशतक बनाएका छन् ।

त्यस्तै, आज हूडाले ३३ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५३ रनको योगदान दिए । आयुष बदोनी १९ र मनिष पाण्डे ११ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

हैदराबादका रोमारियो सेफर्ड र वासिङ्टन सुन्दरले दुई/दुई विकेट लिए । जारी लिगमा लखनऊले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ । एक म्याच खेलेको हैदराबादले जित हात पार्न सकेको छैन ।

यो पनि पढौं– नेपाली समर्थकको माया देखेर अचम्ममा अमिनी, लज्जास्पद हार बेहोरे पनि दिल खोलेर गरे प्रशंसा

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.