काठमाडौं ।
सोमबार सम्पन्न टी–२० त्रिकोणात्मक सिरिजमा मोहम्मद आदिल आलमले धेरैको मन जिते । डेब्यूमै ११ बलमा ३१ रनको आक्रामक पारी खेलेपछि उनको चर्चा अझै सेलाएको छैन । त्रिकोणात्मक सिरिजमा नेपाल अपराजित रहनमा उनको भूमिका पनि अहम् रह्यो ।
यो पनि पढौं– यी हुन् दीपेन्द्रलाई मनपर्ने दुई विदेशी क्रिकेटर
ब्याटिङका साथै आदिलले बलिङमा पनि राम्रो गरे । विकेट लिन नसके पनि उनले बलिङमा खासै रन खर्चेनन् । डेब्यू सिरिजमै राम्रो गरेका आदिललाई धेरै समर्थकले नेपाली टिमको भविष्यको रूपमा हेरेका छन् । उनले पनि आफू सधैं नेपालका लागि खेल्ने बताएका छन् ।
‘म पहिले जति अभ्यास गर्थे अब त्योभन्दा दुई गुणा गर्छु, देशको लागि सधैं खेल्छु,’ आदिलले कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ताका क्रममा भने । उनले आफ्नो मुख्य सपना नेपाललाई टेष्ट मान्यता दिलाउन योगदान दिनु नै रहेको पनि बताए ।
‘मेरो एउटै मात्र सपना छ, आफ्नो देशलाई टेष्ट राष्ट्र बनाउने हो,’ आदिलले भने । उनले आफ्नो डेब्यूपछि गाउँमा उत्साह थपिएको पनि बताए । आदिलले आफ्नो कारण क्रिकेट खेल्नै छोडेका युवाहरू पनि पुनः खेलमा ध्यान दिइरहेको पनि सुनाए । साथै, उनले सधैं निडर भएर खेल्ने आफ्नो बानी रहेको पनि बताए ।
यो पनि पढौं– गायिका रचना रिमालको विषयमा क्यानले सोध्यो स्पष्टीकरण