पञ्जाबले दियो गुजरातलाई बलियो लक्ष्य, लिभिङस्टोन र राशिदबीच कडा टक्कर

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा पञ्जाब किंग्सले गुजरात टाइटेन्सलाई १९० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो ।

उसका लागि लियाम लिभिङस्टोनले आक्रामक पारी खेले । उनले २७ बलमा चार छक्का र सात चौकासहित ६४ रन बनाए । उनले शिखर धवनसँग ३२ बलमा ५२ रनको साझेदारी गरे ।

धवन ३५ रनमा आउट भए पनि लिभिङस्टोन र जितेश शर्माबीच १८ बलमा ३८ रनको साझेदारी भयो । तर, सबैले आक्रामक शैलीमा ब्याटिङ गर्न खोज्दा एकपछि अर्को विकेट पतन हुन पुग्यो । जितेशले ११ बलमा २३ रन बनाए । उनी आउट भएपछि ओडेन स्मितले पहिलो बलमै छक्का हान्न खोजे । तर, उनी शून्यमै पबेलियन फर्किए ।

राशिद र लिभिङस्टोनबीच कडा टक्कर

टी–२० क्रिकेटमा राशिद र लिभिङस्टोनबीच कडा टक्कर पर्दै आएको छ । यी दुईबीच विवादमा नभइ एकअर्काविरुद्ध गर्ने प्रदर्शनका आधारमा टक्कर पर्ने गरेको हो । राशिदले लिभिङस्टोनलाई पटकपटक आउट गर्दै आएका छन् । र, आज पनि लिभिङस्टोन राशिदको बलमा आउट भए ।

राहुल र अर्शदीपको उत्कृष्ट फिनिसिङ

पञ्जाबको फिनिसिङमा बलरद्वय अर्धदीप सिंह र राहु चाहरको योगदान महत्वपूर्ण रह्यो । उनीहरूबीच दशौँ विकेटका लागि १३ बलमा अविजित २७ रनको साभेदारी बन्यो । जसमा चाहरले १३ बलमा १७ र सिंहले ५ बलमा अविजित १० रन जोडे ।

शाहरुख खान १५, जोनी बेयरिस्टो आठ, कप्तान मयंक अग्रवाल पाँच, कागिसो रबाडा एक रनमा आउट भए । गुजरातका लागि राशिद खानले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

दर्शन नलकाण्डेले दुई, मोहम्मद शामी, हार्दिक पाण्ड्या र लकी फर्गुसनले एक/एक विकेट हात पारे । जारी सिजनमा गुजरातले २ म्याच खेल्दा अपराजित छ । त्यस्तै, पञ्जाबले तीन म्याच खेल्दा दुई खेलमा जित र एक खेलमा हारको सामना गरेको छ ।