काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो । गुजरातको जितका ‘हिरो’ रहे राहुल तेवाटिया । उनले अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै गुजरातलाई हार्नै लागेको म्याच जिताए ।
मुम्बईको ब्रेबोर्न स्टेडियममा पञ्जाबले पहिले ब्याटिङ गर्दै लियाम लिभिङस्टोन ६४ को शानदार पारीमा ९ विकेट गुमाएर १८९ रन बनायो । १९० रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर पूरा गर्दै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
अन्तिम ओभरमा गुजरातलाई जितका लागि १९ रन आवश्यक थियो । हार्दिक पाण्ड्या पहिलो बलमै रनआउट भए । डेविड मिलर र तेवटियाले पहिलो चार बलमा ८ रन बनाए । गुजरातलाई अब अन्तिम २ बलमा ११ रन चाहियो । तेवटियाले आफ्नो अविश्वसनीय ब्याटिङ गर्दै गुजरातको जित ह्याट्रिक पूरा गरे ।
जित्ने आशा गुमाइसकेको म्याच जिताएपछि तेवटियाले भनेका छन्, ‘महान अनुभूति भइरहेको छ, पिचमा केही सोच्नुपर्ने अवस्था थिएन । त्यहाँ गएर ठूला छक्का प्रहार गर्नेबाहेक । डेविड मिलर र म त्यही सोचिरहेका थियौं ।’
उनले स्मिथविरुद्ध योजना बनाएर नै खेलेका आफू सफल भएको पनि बताए । ‘स्मिथविरुद्ध मेरो योजना थियो । जब अन्तिम बल ब्याटको बीचमा लाग्यो, मलाई थाहा थियो यो छक्का हो । उनले पहिलो बल अफ-साइड बाहिर गरेका थिए । त्यसैले मलाई थाहा थियो कि अन्तिम बल पनि त्यहाँ आउनेछ,’ तेवटियाले भनेका छन् ।
उनले आईपीएल २०२० मा अविश्सनीय ब्याटिङ गर्दै राजस्थान रोयल्सलाई रोमाञ्चक जित दिलाएका थिए ।