काठमाडौं ।
नेपाल प्रो क्लब च्याम्पिनसिप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबमाथि ५१ रनको सहज जित हात पारेको हो ।
१४० रनको लक्ष्य पछ्याएको एपिएफले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो । एपिएफका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक ३१ रनको योगदान दिए । १६ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे ।
रित गौतम र सुमित महर्जनले समान १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आर्मीका सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । सोमपालले एकै ओभरमा तीन विकेट लिएका थिए । त्यस्तै, कुशल मल्ल, विक्रम सोब र साहब अलामको नाममा दुई/दुई विकेट रह्यो ।
त्यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । आर्मीका लागि रोहितकुमार पौडेलले अविजित ८० रनको पारी खेले । ५७ बलको सामना गरेका उनले नौ चौका र एक छक्का प्रहार गरे । भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले १९ रन जोडे ।
एपिएफका लागि किशोर महतो र भुवन कार्कीले दुई/दुई तथा अमरसिंह रौटेला र नन्दन यादवले एक/एक विकेट हात पारे । जितसँगै आर्मीले दुई अंक जोड्दा एपिएफले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।