काठमाडौं ।
नामिबियाविरुद्धको टी-२० श्रृंखलाको दोस्रो खेलमा पाहुना टोली युगाण्डा ७ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको सिरिज १-१ को रोमाञ्चक स्थितिमा आएको छ । तेस्रो खेलमा नामिबियाले दिएको १७८ रनको लक्ष्य युगाण्डाले १९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
उसका लागि भारतीय मूलका दिनेश नाकर्णीले शानदार ब्याटिङ गरे । उनले ३९ बलमा आठ चौका र तीन छक्कासहित अविजित ७७ रन बनाए । त्यस्तै, पाकिस्तानी मूलका रियाजत अली शाहले ४३ बलमा चार चौका र तीन छक्काको सहयोगमा नटआउट ५७ रनको पारी खेले ।
केनेथ वाइस्वा २४ र अर्नोल्ड ओटवानी १६ रनमा आउट भए । नामिबियाका गेर्हार्ड इरास्मसले सर्वाधिक २ विकेट लिए । त्यसअघि, नामिबिया राजधानी विन्डहोकको युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनायो ।
उसका लागि गेर्हार्ड इरास्मसले शतकीय पारी खेले । उनले ४७ बलमा सात छक्का र नौ चौकासहित अविजित १०० रन बनाए । त्यस्तै, जेपी कोट्जे ३९ र जेजे स्मित १३ रनमा आउट भए । युगाण्डाका रियाजत अली शाहले सर्वाधिक दुई विकेट लिए ।
नामिबिया र युगाण्डाबीचको निर्णायक तथा तेस्रो खेल भोलि हुनेछ । पहिलो खेलमा नामिबिया ८ विकेटले विजयी भएको थियो ।