काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले मुम्बई इण्डियन्सविरुद्ध खेल्यो । उसले यो खेल ७ विकेटले जित्यो । आरसिबीको जितमा विराट कोहलीले ३६ बलमा पाँच चौकाको सहयोगमा ४८ रन बनाए ।
उनलाई लामो समयपछि अर्धशतक बनाउने मौका थियो । तर, काेहली दोस्रो आईपीएल म्याच खेलिरहेका दक्षिण अफ्रिकाका ‘बेबी एबी डिभिलियर्स’ नामले परिचित डेवाल्ड ब्रेभिसको बलमा एल्बडब्लू धरापमा परे । उनी १८.१ ओभरमा आउट भएका थिए ।
विराट दु:खी भए पनि ब्रेभिस भने पहिलो बलमै विराटको विकेट लिन पाउँदा हर्षित भए । कोहली भने दु:खी मात्र होइन अम्पायरको निर्णयप्रति असन्तुष्ट पनि देखिन्थे । ब्रेभिसलाई अनफिल्ड अम्पायरले आउट दिएपछि पुणेको मैदानमा कोहलीले डिआरएस प्रयोग गरे ।
तेस्रो अम्पायरले जाँच गरेपछि बल ब्याट र प्याडमा एकैसाथ ठोकेको र मैदान अम्पायरको निर्णय उल्टाउन पर्याप्त प्रमाण नभएको पत्ता लगाए । जसका कारण थर्ड अम्पायरले पनि कोहलीलाई आउट घोषित गरे । यो निर्णयपछि विराट रिसाए । र, पबेलियन फर्किने क्रममा उनले ब्याटलाई भुइँमा हाने ।
क्रिछ छोडेपछि पनि कोहलीको रिस शान्त भएन । र, उनी जमिनतिर हेरेर रिसाउँदै/बोल्दै ड्रेसिङ रुमतर्फ लागे । आउट हुनुअघि कोहलीले अनुज रावत (६६) सँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । कोहली आउट भए पनि बैंग्लोरले खेल भने सजिलै जित्यो । यो जितसँगै बैंग्लोर ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
my god? he's so angry pic.twitter.com/v0oZokSs40
— // Tsitsipas thinker (@tanyadiors) April 9, 2022