काठमाडौं ।
नेपाल प्रो क्लब च्याम्पिनसिप क्रिकेट प्रतियोगितमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आर्मीले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न खेलमा बंगलादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीमाथि ८ विकेटको सहज जित हात पारेको हो ।
९७ रनको लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि रोहितकुमार पौडेलले अविजित ४१ रनको योगदान दिए । २६ बलको सामना गरेका रोहितले पाँच चौका र एक छक्का प्रहार गरे । हरि चौहानले २५ रन जोड्दा भिम सार्की १४ रनमा अविजित रहे ।
ट्यालेन्ट हन्टका लागि एमडी उमर र सन्दीप कुमारले एक/एक विकेट हात पारे । त्यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ट्यालेन्ट हन्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।
ट्यालेन्ट हन्टका लागि अबिदुर कैफले सर्वाधिक २३ रनको योगदान दिए । उत्तम मगरले १६ र कप्तान मोहम्मद मोशर्रफले अविजितले १५ रन जोडे । आर्मीका लागि कुशल मल्लले तीन, सुशन भारी र सोमपाल कामीले दुई/दुई तथा शाहब आलमले एक विकेट हात पारे ।
जितसँगै दुई खेलमा चार अंक जोडेको आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाउँदा लगातार दोस्रो पराजय बेहोर्दै अंकविहिन ट्यालेन्ट हन्टको भने कठिन बनेको छ । आर्मीले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ५१ रनले हराउँदा ट्यालेन्ट हन्ट उत्तर प्रदेश–११ सँग ८ विकेटले पराजित भएको थियो ।