काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को १९ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई २१६ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनायो ।
उसका लागि ओपनरद्वय डेविड वार्नर र पृथ्वी शाले उत्कृष्ट पारी खेले । वार्नरले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ६१ रन बनाए । जारी सिजनमा उनको यो पहिलो अर्धशतकीय पारी हो । पहिलो खेलमा वार्नर ४ रनमा आउट भएका थिए ।
पृथ्वीले २९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५१ रन बनाए । उनको योलगातार दोस्रो अर्धशतकीय इनिङ हो । पृथ्वीले अघिल्लो खेलमा लखनउ सुपर जायट्सविरुद्ध ३४ बलमा ६१ रन बनाएका थिए ।
त्यस्तै, आज कप्तान ऋषभ पन्तले १४ बलमा २७, शार्दुल ठाकुरले ११ बलमा २९ र अक्षर पटेलले १४ बलमा २२ रनको योगदान दिए । रोभम्यान पावेल आठ र ललित यादव भने एक रनमै आउट भए । केकेआरका सुनिल नारायणले दुई, वरुण चक्रवर्ती, आन्द्रे रसेल र उमेश यावदले एक/एक विकेट लिए ।
कमिन्स र उमेश महँगा सावित
दिल्लीविरुद्ध केकेआरका दुई अनुभवी तीव्र गतिका बलरद्वय प्याट कमिन्स र उमेश यादव महँगा सावित भए । कमन्सिले ४ ओभरमा बिनाविकेट ५१ रन खर्चिए । उनले आज १२.७५ को इकोनमीमा बलिङ गरे ।
जारी सिजनमा शानदार बलिङ गरिरहेका उमेश आज भने पिटिए । उनले ४ ओभरमा एक विकेट लिए पनि ४८ रन खर्चिन पुगे । उमेशले दिल्लीविरुद्ध १२ को इकोनमीमा बलिङ गरे । त्यस्तै, वरुण चक्रवर्तीले ४ ओभरमा ४४ रन दिएर एक विकेट हात पारे ।