काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ टी–२० वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंमा उक्लिएको छ । नेपाल यूएईलाई पछि पार्दै १३ बाट औंमा उक्लिएको हो ।
यसपालि यूएईसँग नेपालले सन्तोषजनक पदर्शन गर्न सकेको छैन । फेब्रुअरीमा भएको विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित हुन पुग्यो । सो हारले नेपाल दोस्रोपटक विश्वकप खेल्न चुक्यो ।
केही दिनअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी–२० सिरिजमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । जहाँ नेपालले अपराजित रहँदै उपाधि जितेको थियो । जसकारण पनि नेपालको वरियतामा सुधार भएको हो । नेपालले पछिल्लो १० टी–२० मध्ये ९ खेलमा जित हात पारेको छ ।
नयाँ टी–२० वरियतामा पनि भारत शीर्ष स्थानमा कायमै छ । त्यस्तै, इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्यूजिल्याण्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, वेष्ट इण्डिज सातौं, अफगानिस्तान आठौँ, बंगलादेश नवौं, श्रीलंका दशौँ र जिम्बाब्वे ११ औं स्थानमा छन् । नेपाल एसोसियट राष्ट्रमा शीर्ष स्थानमा छ ।
नेपाल भन्दापछि यूएई १३ औं, स्कटल्याण्ड १४ औं र आयरल्यान्ड १५ औं स्थानमा छन् । एकदिवसीय वरियतामा भने नेपाल १८ औं स्थानमा छ ।