टी-२० विश्वकप छनोटको नियम परिमार्जन, नेपाललाई फाइदा

Image

काठमाडौं ।

आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि छनोट प्रक्रिया परिमार्जन गरिएको छ । २०२४ को विश्वकपदेखि २० टिमबीच प्रतिस्पर्धा हुने भएको हो । आईसीसीको आइतबार सकिएको बोर्ड बैठकले १२ टिम सिधै छनोट हुने निर्णय गरेको हो ।

जसमा २०२२ को टी–२० विश्वकपका शीर्ष ८ टिम, २ आयोजक र २ उच्च वरीयताका टिम सिधा छनोट हुनेछन् । यो विश्वकप अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । नोभेम्बर २०२२ सम्मको आईसीसी टी–२० वरियतामा विश्वकपमा छनोट हुने टिमको टुंगो लगाइनेछ । नोभेम्बरमा आइसिसी टी–२० विश्वकप २०२२ पनि सकिनेछ ।

अस्ट्रेलियामा हुने २०२२ को विश्वकपमा वेस्ट इन्डिज शीर्ष आठमा पुग्न सफल भए वरियताको आधारमा तीन टिम विश्वकपमा पुग्नेछन् । सिधा छनोट हुने १२ टिमबाहेक बाँकी ८ टिम भने क्षेत्रीय छनोटबाट आउनेछन्।

अबदेखि विश्व छनोट हुने छैन । क्षेत्रीय छनोटमा अफ्रिका, एसिया र युरोपबाट २/२ टिम तथा अमेरिका र इस्ट एसिया प्यासेफिकबाट एक/एक टिम गरी ८ टिम छनोट हुनेछन् । आईसीसीले परिमार्जन गरेको नियमले नेपाललगायत एसोसियट राष्ट्रलाई सहयोग पुग्ने देखिन्छ ।

हाल नेपाल टी–२० विश्वकपमा १२ औं स्थानमा छ । जसका नेपाल विश्वकपमा छनोट हुने सम्भावना बलियो छ । नेपालले अहिलेको वरियतालाई कायम राखे स्वतः छनोट हुनेछ ।