काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को २० औं खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई १६६ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो ।
उसका लागि शिमरोन हेटमायरले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ६ छक्का र एक चौकासहित अविजित ५९ रनको योगदान दिए । लगातार विकेट गुमिरहेको बेला क्रिजमा आएका हेटमायरले शानदार पारी खेले । साथै, व्यक्तिगत १४ रन बनाएको अवस्थामा कृणाल पाण्ड्याले उनकाे क्याच छुटाएका थिए । त्यसको फाइदा उठाउँदै हेटमायरले छक्काको वर्षा गरे ।
त्यस्तै, देवदत्त पाडिक्कलले २९, रविचन्द्रन आश्विनले २८, जोस बटलर र कप्तान सञ्जु सामसनले १३/१३ रन बनाए । रियान पराग आठ र रस्सीभान डर दुसेन चार रनमा आउट भए । लखनउका कृष्णप्पा गौतम, जेसन होल्डरले दुई/दुई र आवेश खानले एक विकेट लिए ।
आजै भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ४४ रनले हरायो । जारी सिजनमा दिल्लीको यो दोस्रो जित हो । उसले पछिल्लो दुई खेलमा लगातार हार बेहोरेको थियो ।
पहिलो खेलमा भने दिल्लीले मुम्बई इण्डियन्सलाई ४ विकेटलाई हराएको थियो । कोलकाताको यो दोस्रो हार हो । उसले पाँच म्याच खेल्दा तीन खेलमा भने जित हात पारेको छ । आफ्नो पाँचौं खेलमा दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।