काठमाडौं ।
नेपाल प्रो-क्लब च्याम्पियनसिपको समूह ‘ए’ को खेलमा मलेसिया–११ ले पुस स्पोर्ट्स दिल्लीविरुद्ध अन्तिम ओभरको ६ बलमा ६ विकेट लिएको छ । रूपन्देहीमा जारी प्रतियोगितामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १९ ओभरसम्ममा ३ विकेटको क्षतिमा १३० रन जोडेको थियो ।
अन्तिम ओभरमा बलिङमा मलेसियाका विरनदीप सिंह थिए भने ब्याटिङमा दिल्लीका इशान पाण्डे र मृगान्क पाठक थिए । जसमा पहिलो बलमा पाठक ३९ रनमा क्याच आउट भए । दोस्रो बलमा इशान दुई रन लिने क्रममा रनआउटको सिकार भएका थिए । तेस्रो बलमा विरनदीपले दिल्लीका अनिन्डो नहारेलाई बोल्ड गरे।
चौथो बलमा विरनदीपले दिल्लीका विशेष सरोहलाई पनि बोल्ड गर्न सफल भए । पाँचौं बलमा जितन सिंहले प्रहार आकासिएपछि विरनदीपले क्याच गर्दै ह्याट्रिक गर्न सफल भए । छैटौं बलमा स्पर्शलाई पनि बोल्ड गर्दै विरनदीपले लगातार चार विकेट लिन सफल भए ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय मान्यता नभएकाले यो आधिकारी ह्याट्रिक भने होइन । यो ओभरमा उनले व्यक्तिगत पाँच विकेट लिए भने रनआउट समेत गरी समग्रमा मलेसियाले ६ बलमा ६ विकेट नै लिन सफल भयो ।
सुरुमा विरनदीपले वाइड बल फ्याँकेकाले मेडन ओभर हुन भने सकेन । अन्तिम ओभरमा ६ विकेट गुमाए पनि दिल्लीले ९ विकेटको क्षतिमा १३२ रन जोड्न सफल भयो ।