काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई १६३ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो ।
उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा चार चौका र एक छक्कासहित अविजित ५० रन बनाए । अभिनव मनोहरले ३५, म्याथ्यू वेडले १९, डेविड मिलरले १२ र साइ सुदर्शनले ११ रनको योगदान दिए ।
हैदराबादका भुवनेश्वर कुमार, टी नटराजले दुई/दुई, उमारान मलिक र मार्को जेनसनले एक/एक विकेट लिए । जारी लिगमा गुजरातले तीन म्याच खेल्दा सबैमा जित हात पारेको छ । हैदराबादले भने तीनमध्ये दुईमा हार र एक खेलमा मात्र जित निकालेको छ ।
भुवनेश्वरले बनाए अनौठो रेकर्ड
सनराइजर्स हैदराबादका बलर भुवेश्नवर कुमारले आईपीएलमा अनौठो कीर्तिमान बनाएका छन् । उनले पहिलो ओभरमा सर्वाधिक रन खर्चने खराब कीर्तिमान बनाएका हुन् । भुवनेश्वरले आज गुजरात टाइटन्सविरुद्ध पहिलो ओभरमा १७ रन दिएसँगै यो खराब उपलब्धि आफ्नो नाममा गरे ।
योसँगै अब उनले डेल स्टेनको खराब रेकर्ड बराबर गरेका छन् । यसअघि स्टेनले पनि २०१५ मा हैदराबादबाट खेल्दै पहिलो ओभरमा १७ रन दिएका थिए । अब उनको रेकर्ड भुवनेश्वरले बराबर गरेका छन् ।