गुजरातमाथि हैदराबादको फराकिलो जित, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सविरुद्ध सनराइजर्स हैदराबाद ८ विकेटले विजयी भएको छ । हैदराबादको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा उसले चेन्नईलाई पनि ८ विकेटले नै हराएको थियो ।

आफ्नो चौथो खेलमा गुजरातले दिएको १६३ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान केन विलियम्सनले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा चार छक्का र दुई चौकासहित ५७ रन बनाए ।

त्यस्तै, अभिषेक शर्माले ४२, निकोलस पूरनले अविजित ३२, राहुल त्रिपाठीले १७ (रिटायर्ट हर्ट) र एडेन मार्कमले अविजित १२ रनको योगदान दिए । गुजरातका राशिद खान र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा चार चौका र एक छक्कासहित अविजित ५० रन बनाए ।

अभिनव मनोहरले ३५, म्याथ्यू वेडले १९, डेविड मिलरले १२ र साइ सुदर्शनले ११ रनको योगदान दिए । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजले दुई–दुई, उमारान मलिक र मार्को जेनसनले एक/एक विकेट लिए । यो जितसँगै हैदराबाद अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । त्यस्तै, शीर्ष स्थानमा राजस्थान, दोस्रोमा कोलकाता, तेस्रोमा बैंग्लोर, चौथोमा लखनउ, पाँचौँमा गुजरात, छैटौँमा दिल्ली, सातौँमा पञ्जाब, नवौँमा मुम्बई र दशौँ स्थानमा चेन्नई रहेका छन् ।

भुवनेश्वरले बनाए खराब रेकर्ड

सनराइजर्स हैदराबादका बलर भुवेश्नवर कुमारले आईपीएलमा अनौठो कीर्तिमान बनाएका छन् । उनले पहिलो ओभरमा सर्वाधिक रन खर्चने खराब कीर्तिमान बनाएका हुन् । भुवनेश्वरले आज गुजरात टाइटन्सविरुद्ध पहिलो ओभरमा १७ रन दिएसँगै यो खराब उपलब्धि आफ्नो नाममा गरे ।

योसँगै अब उनले डेल स्टेनको खराब रेकर्ड बराबर गरेका छन् । यसअघि स्टेनले पनि २०१५ मा हैदराबादबाट खेल्दै पहिलो ओभरमा १७ रन दिएका थिए । अब उनको रेकर्ड भुवनेश्वरले बराबर गरेका छन् ।