काठमाडौं ।
एएफसी फुटसल एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा दिउँसो १ः४५ मा सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ । आज भने नेपाल अफगानिस्तानलाई स्तब्ध पार्दै सुखद अन्त्य गर्न चाहन्छ । यद्यपि, बलियो टोली अफगानिस्तानलाई हराउन नेपाललाई सहज भने पक्कै छैन । समूह ‘बी’ को अफगानिस्तानले पनि दुई महिनाअघि इरानमा गएर अभ्यास गरेको थियो । साथै, उसले इरानको राष्ट्रिय टिमविरुद्ध मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ ।
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । अफगानिस्तान पनि उज्वेकिस्तानविरुद्ध सोही गोल अन्तरले पराजित भएको छ । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित भयो । दोस्रो खेलमा नेपालले १० गोल दोस्रो हाफमा खाएको हो ।
उज्जवेकिस्तानविरुद्धको पहिलो खेलमा नेपालका ६ खेलाडीले डेब्यु गरे । त्यस्तै, ताजकिस्तानविरुद्ध गोलकिपर विश्वास पौडेलले खेलाडीले डेब्युको मौका पाए । सबै खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीको मान्यता पाइसकेका र दुई म्याच खेलिसकेकाले आज नेपाल जितको लक्ष्यसहित मैदान उत्रिनेछ ।
सात्वना जितको खोजीमा रहेको नेपाल प्रतियोगिताबाट भने बाहिरिसकेको छ । हालसम्म जारी प्रतियोगितामा जित निकाल्न नसकेको नेपालले आज सफला प्राप्त गरे इतिहास रच्नेछ ।