नेपाल र अफगानिस्तानको खेलमा गोलको वर्षा, एक खेलाडीले गरे ह्याट्रिक

Image

काठमाडौं ।

एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल पनि पराजित भएको छ ।
आज किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा भएको खेलमा अफगानिस्तानविरुद्ध नेपाल ८–१ गोल अन्तरले पराजित भएको हो ।

यो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल जितविहीन बन्यो । अफगानिस्तानको जितमा हामिद रिजा होस्नेन, अलि अमिरी, अब्दुल गाफर, रिजा करिमी, सायद महदी हसिमी, अब्दुल गाफरले गोल गरे । अब्दुलले ह्याट्रिक पूरा गर्दै अफगानिस्तानलाई ८–१ को फराकिलो जित दिलाए ।

नेपालका लागि सुमित श्रेष्ठले मात्र एक गोल गर्न सके । छनोटअन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानविरुद्ध ५–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानविरुद्ध ११–१ ले पराजित भयो । समग्रमा नेपालले तीन खेलमा २४ गोल खायो भने तीन गोल गर्न सक्यो ।

कुवेतमा आगामी सेप्टेम्बर अन्तिम सातादेखि हुने एसियन कप फुटसल प्रतियोगिताका लागि छनोट भएको हो । विभिन्न समूहबाट छनोट पार गरेका र आयोजक गरी प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

कुवेत आयोजकको हैसियतमा छनोट भइसकेको छ । समूहका शीर्ष टिम स्वत: छनोट हुनेछन् भने दोस्रो हुने टिमले प्लेअफ खेल्न पाउनेछन् ।