काठमाडौं ।
प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबविरुद्ध मलेसिया–११ ले एक विकेटको रोमाञ्चक जित निकालेको छ । १०० रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १७ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाका लागि नाजरिल रहमानले २७, सैद अजिजले १३, शार्विन मुनीआन्दीले १८ र मोहम्मद वाफिकले ११ रन बनाए ।
पुलिसका पवन सरार्फले ४ ओभरमा एक मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सागर ढकाल, करण केसी, मञ्जित श्रेष्ठ र गुलशन झाले एक/एक विकेट लिए ।
त्यसअघि भैरहवाको सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ थालेको पुलिस १९.४ ओभरमा ९९ रनमा सेमटियो । उसका प्रेम तामाङले अविजित २८, पवन सरार्फले २५, सागर ढकालले १४, शंकर रानाले १०, करण केसी, अर्जुन साउँदले चार/चार रन बनाए ।
मलेसियाका सैद अजिजले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यो हारसँगै पुलिस ३ खेल जितजिहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । मलेसिया ३ खेलमा २ मा जित र एक खेलमा हारसहित दोस्रो स्थानमा छ । समूह ‘ए’ मा रूपन्देही-११ दुई खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।