काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) ले ओमानलाई २२५ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२४ रन बनायो ।
यूएईमा पिएनजीले ओमानलाई दिएको यो हालसम्मकै ठूलो लक्ष्य हो । समग्रमा भने वानडेमा पिएनजीले ओमानलाई दिएको यो दोस्रो ठूलो लक्ष्य हो । उसका लागि चाल्स अमिनीले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकासहित ५९ रन बनाए ।
लेगा सियाकाले ३०, रिले हेकुरले २६, कप्तान असद भालाले २१, नोर्मन भानुआ, चाड सोपरले अविजित १९/१९, सेसे बाउले १४ र टोनी उराले १३ रनको योगदान दिए । ओमानका लागि बिलाल खानले तीन, फयाज बट, नेस्टर धम्बाले दुई/दुई, खावर अली र कलिमुल्लाहले एक/एक विकेट लिए ।
विश्वकप लिग–२ मा पिएनजीले १७ म्याच खेल्दा १६ मा हार र एक खेलमा मात्र जित हात पारेको छ । ओमानले २९ मध्ये १७ मा जित र १० खेलमा हार बेहोरेको छ । उसले दुई खेलमा अंक बाँडेको छ । नेपालले विश्वकप लिग–२ मा १२ म्याच खेलेको छ । जसमध्ये ६ मा जित र ६ खेलमा हारको सामना गरेको छ ।