काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्स (सिएसके) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई २१६ रनको लक्ष्य दिएको छ । जारी सिजनमा चेन्नईले कुनै पनि टिमलाई दिएको यो विशाल लक्ष्य हो ।
मुम्बईस्थित डिवाइ पाटिल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनायो । उसका लागि रोबिन उथप्पा र शिवम् दुबेले आक्रामक ब्याटिङ गरे । उथप्पाले ५० बलमा नौ छक्का र चार चौकासहित ८९ रन बनाए ।
त्यस्तै, दुबेले ४६ बलमा आठ छक्का र पाँच चौकाको सहयोगमा अविजित ९५ रनको योगदान दिए । तेस्रो विकेटका लागि उथप्पा र दुबेले ७५ बलमा १६५ रनको विशाल साझेदारी गरे । त्यस्तै, ऋतुराज गायकवाड १७ र मोइन अली तीन रनमा आउट भए । बैंग्लोरका वानिन्दु हसरंगाले दुई र जोस हेजलउडले एक विकेट लिए ।
जारी सिजनमा चेन्नईले चार म्याच खेल्दा सबैमा हार बेहोरेको छ । ऊ आजको खेल जित्दै खाता खोल्न चाहन्छ । बैंग्लोरले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ । उसले पछिल्लो तीन खेलमा लगातार जित हात पारेको छ ।