काठमाडौं ।
नेपाल, पपुवा न्यूगिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज जित्ने नेपाली खेलाडीलाई सरकारले नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ । चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको सिरिजको उपाधि जितेको नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको हो ।
योसँगै अब श्रृंखला खेलेका १६ खेलाडीले २/२ लाख रुपैयाँ पाउने छन् । नेपालले श्रृंखलामा अपराजित रहँदै उपाधि जित्ने क्रममा ५ वटै खेल जितेको थियो । यस्तै, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई नगद १ लाख ५० हजार र अन्य अफिसियललाई जनही १ लाख रुपैयाँ प्रदान गरिने भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
आईसीसी वरियतामा दीपेन्द्रलाई ऐतिहासिक सफलता
नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा उनी अलराउन्डरतर्फ १० औं स्थानमा उक्लिएका हुन् । हालै सकिएको नेपाल, पिएनजी र मलेसियाबीचको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रले वरियतामा व्यापक सुधार गरे ।
दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट वरियतामा अटाएका हुन् । यसअघि कुनै पनि नेपाल खेलाडी आईसीसी वरियताको शीर्ष १० भित्र अटाएका थिएनन् । यसअघि २०१९ मा टी–२० को अलराउन्डर वरियतामा पूर्वकप्तान पारस खड्का २५ औं स्थानमा पुगेका थिए । अब पारसको सो उपलब्धि दीपेन्द्रले तोडेका छन् ।
ब्याटिङतर्फ दीपेन्द्र ३८ औं स्थानमा छन् । त्यस्तै, कुशल भुर्तेल ३६ औं, आरिफ शेख ९९ औं स्थानमा छन् । टी–२० बलिङतर्फ सन्दीप लामिछाने ३८ औं र अविनाश बोहरा ८६ औं स्थानमा छन् ।