काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई १९९ रनको लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एशोसियसनको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनायो ।
उसका लागि शिखर धवन (गब्बर) र कप्तान मयंक अग्रवालले अर्धशतकीय पारी खेले । धवनले ५० बलमा पाँच चौका र तीन छक्कासहित ७० रन बनाए । मयंकले ३२ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५२ रनको योगदान दिए ।
जितेश शर्माले १५ बलमा दुई चौका र दुई छक्कासहित अविजित ३० रनको आक्रामक पारी खेले । शाहरुख खान १५, जोनि बेयरिस्टो १२ र लियाम लिभिङस्टोन दुई रनमा आउट भए । मुम्बईका बसिल थम्पीले दुई, जसप्रित बुमराह, जयदेव उनादकट र मुर्गन आश्विनले एक/एक विकेट लिए ।
जारी लिगमा पञ्जाबले ४ म्याच खेल्दा दुईमा जित र दुई खेलमा हार बेहोरेको छ । ऊ ४ अंकका सात तालिकाको सातौँ स्थानमा छ । मुम्बईले भने चार म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन ।

















