काठमाडौं ।
नामिबियाविरुद्धको एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा पाहुना टोली युगाण्डा ३ विकेटले विजयी भएको छ । नामिबियाले दिएको २६८ रनको विजयी लक्ष्य युगाण्डाले ४९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध युगाण्डाको यो कीर्तिमानी जित हो ।
यसअघि उसले नामिबियाविरुद्ध २६८ रनको लक्ष्य पूरा गर्न सकेको थिएन । युगाण्डाकाे जितमा साइमन सेसाजीले ८२, दिनेश नाकर्णीले ४५, रियाजत अली शाहले अविजित ४३, फ्रेड अचेलमले २२ र कप्तान केन्नेथ वाइस्वाले २० रन बनाए ।
नामिबियाका लागि गेर्हार्ड इरास्मसले जन फ्राइलिंकले सर्वाधिक दुई विकेट लिए । त्यसअघि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६७ रन बनायो ।
उसका लागि कप्तान क्रेग विलियम्सले ८०, कार्ल बीरकेनस्टकले ७३, लो-ह्यान्ड्रे लोरेन्सले ४४, रूबेन ट्रम्पेलम्यानले अविजित २२ र स्टेफन बार्डले १९ रन बनाए । युगाण्डाका लागि दिनेश नाकर्णीसहित चार बलरले एक/एक विकेट लिए ।
यो जितसँगै दुई खेलको सिरिज युगाण्डाले १–१ को बराबरीमा सकेको छ । सिरिजको पहिलो युगाण्डा ७ विकेटले पराजित भएको थियो ।













