काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले लगातार पाँचौं हार बेहोरेको छ । गएराति भएको खेलमा पञ्जाब किंग्ससँग १२ रनले पराजित भएसँगै मुम्बईले लगातार पाँचौं हार बेहोरेको हो ।
आफ्नो पाँचौं खेलमा पञ्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो । उसका लागि डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव र तिलक वर्माले उत्कृष्ट पारीका बाबजुद मुम्बई जित निकाल्न भने चुक्यो ।
ब्रेभिसले २५ बलमा पाँच छक्का र चार चौकासहित ४९ रनको आक्रामक पारी खेले । उनले नवौं ओभरमा राहुल चाहरविरुद्ध लगातार चार छक्का र एक चौका हिर्काए । बेबी एबी डिभिलियर्सको नामले परिचित ब्रेभिसले यो ओभरमा एक्लैले २८ रन जोडे ।
पहिलो बलमा तिलकले एक रन लिए । दोस्रो बलमा ब्रेभिसले चौका हिर्काए । त्यसपछि उनले लगातार चार छक्का प्रहार गरे । ब्रेभिसले सुरुवाती ८ बल खेल्दा खाता खोल्न सकेका थिएनन् । त्यस्तै, सूर्यकुमारले ३० बलमा चार छक्का र एक चौकाको सहयोगमा ४३ रन बनाए । २० बलमा तीन चौका र दुई छक्का हिर्काएका तिलक ३६ रनमा आउट भए ।
रोहित शर्माले १७ बलमा तीन चौका र दुई छक्काको सहयोगमा २८ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । पञ्जाबका लागि ओडेन स्मिथले चार, कागिसो रबाडाले दुई र वैभव अरोराले एक विकेट लिए ।
त्यसअघि महाराष्ट्र क्रिकेट एशोसियसनको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनायो । उसका लागि शिखर धवन र कप्तान मयंक अग्रवालले अर्धशतकीय पारी खेले ।
धवनले ५० बलमा पाँच चौका र तीन छक्कासहित ७० रन बनाए । मयंकले ३२ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५२ रनको योगदान दिए । जितेश शर्माले १५ बलमा दुई चौका र दुई छक्कासहित अविजित ३० रनको आक्रामक पारी खेले । शाहरुख खान १५, जोनि बेयरिस्टो १२ र लियाम लिभिङस्टोन दुई रनमा आउट भए ।
मुम्बईका बसिल थम्पीले दुई, जसप्रित बुमराह, जयदेव उनादकट र मुर्गन आश्विनले एक/एक विकेट लिए ।यो जितसँगै पञ्जाब तेस्रो स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । कविहीन मुम्बई भने पुछारमा छ ।