यी १२ नेपाली फुटबलर, जसले अल्मुताइरीको प्रशिक्षणमा डेब्यू गरे

Image

काठमाडौं ।

वर्ष २०७८ मा नेपाली फुटबल पनि व्यस्त नै रह्यो । निर्णायक खेलमा चुक्दा उपाधिविहीन बन्न पुगे पनि युवा खेलाडीको प्रदर्शन भने तारिफयोग्य रह्यो । २०७८ नेपाली फुटबल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको वरिपरी नै घुम्योभन्दा फरक नपर्ला । यो वर्ष मैदानभित्र र बाहिरका प्राय: सबै गतिविधिमा कुनै न कुनै रूपमा उनी जोडिए ।

२०७८ मा नेपाली फुटबलका लागि सबैभन्दा ठूलो उपलब्धि साफ च्याम्पियनसिपमा फाइनल पुग्नु रह्यो । फाइनलमा भारतसँग पराजित हुँदा ऐतिहासिक उपाधि जित्ने नेपालको धोको भने पूरा हुन सकेन । २०७८ मा नेपालले मुख्य तीन लक्ष्य प्राप्त गर्‍यो। साफको उपविजेता, एसियन कप छनोटको तेस्रो चरणमा पुग्नु र नयाँ नेपाली टोली तयार पार्नु ।

२०७८ मा नेपालले भारतसँग चार खेल खेल्यो । तर, नेपाल जित निकाल्न भने चुक्यो । भारतसँगको चार खेलमा नेपालले एक म्याच मात्र बराबरी खेल्न सक्यो । नेपालले २०७८ मै एसियन पावर हाउसहरू इराक, अस्ट्रेलिया, जोर्डन र थाइल्याण्ड जस्ता टोलीसँग खेल्यो । यद्यपि यी टिमविरुद्ध नेपालले जित हात पार्न भने सकेन ।

नेपालले पहिलोपटक अफ्रिकन राष्ट्र मोरिसससँग पनि मैत्रीपूर्ण खेल खेल्यो । नेपालले २०७८ मा कूल १४ म्याच खेल्दा पाँचमा जित र सात खेलमा हार बेहोर्‍यो । दुई खेल भने नेपालले बराबरी खेल्यो । भारतबाहेक नेपालले बंगलादेशसँग पनि बराबरी खेलेको थियो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा साफदेखि विश्वकप छनोटसम्मको खेल खेल्यो ।

नेपालले २०७८ मा सबै खेल अलमुताइरीकै प्रशिक्षणमा खेलेको हो । नेपालका लागि वर्षको पहिलो खेल इराक र अन्तिम खेल थाइल्याण्डविरुद्ध रह्यो । दुर्भाग्य दुवै खेलमा नेपाल पराजित भयो ।

२०७८ मा नेपाली फुटबलले सबैभन्दा हासिल गरेको ठूलो उपलब्धि साफ च्याम्पियनसिपको फाइनल पुग्नु रह्यो । नेपाली टिम फाइनल पुग्नुको मुख्य श्रेय प्रशिक्षक अलमुताइरीलाई पनि जान्छ । साफमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हरायो । तेस्रो खेलमा भने नेपाल भारतसँग १–० ले पराजित भयो । तर, अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान पक्का गर्‍यो ।

भारतसँग ३–० ले पराजित भएको नेपाल पहिलोपटक उपविजेता बन्यो । २०७८ मै नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपालले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको तयारी गर्‍यो । त्यसपछि दोस्रो चरणको छनोट खेल्न कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले हरायो । तर, जोर्डन र अष्ट्रेलियासँग भने नेपाल ३–० ले पराजित भयो ।

विश्वकप छनोटमा बाँकी रहेको ३ खेल नेपालले सेन्ट्रल भेन्युमा खेलेको हो । समूहमा पाँच टिममध्ये चौथो भएको नेपाल नयाँ प्रावधानअनुसार प्लेअफ नखेली सिधै एएफसी एसियन कपको तेस्रो चरणको लागि छनोट भयो ।

एसिया कपको अन्तिम चरणको छनोटमा पनि नेपाल, जोर्डन, कुवेत इन्डोनेसिया समूह ‘ए’ मा छन् । त्यस्तै, नेपालले वर्ष २०७८ मा कूल ६ वटा मैत्रीपूर्ण खेल खेल्यो । जसमा इराक, थाइल्याण्ड जस्ता बलियो टोली थिए । नेपालले तीमध्ये २ खेलमा जित निकाल्यो । नेपालले घरेलु मैदानमै भएको मोरिससविरुद्ध दुवै खेलमा समान १–० को जित हात पार्‍यो।

१२ खेलाडीको डेब्यु

२०७७ को चैतमा नेपालको प्रशिक्षक बनेका अलमुताइरीले एक वर्षभित्र १२ खेलाडीलाई डेब्यु गराएका छन् । उनले टोली सम्हालेको पहिलो खेलमा इराकविरुद्ध गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यु गराए । विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा अल्मुताइरीले कमल थापा, आयुष घलान र सुरज ज्यू ठकुरीलाई डेब्युको मौका दिए ।

त्यस्तै, नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको मैत्रीपूर्ण खेलमा डेब्यु गरे । नयाँ खेलाडीलाई डेब्यु गराउँदै एक्सपोजर र अनुभव बटुल्ने मौका दिएका अलमुताइरीले माघमा मोरिससविरुद्ध पहिलो खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगर तथा दोस्रो खेलमा नविन गुरुङलाई डेब्युको मौका दिए ।

चैतमा थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलमा प्रशान्त अवस्थीले पनि डेब्यु गरे । अल्मुताइरीले नेपाली टोलीलाई प्रशिक्षण मात्र होइन एकजुट बनाउने काम पनि गरिरहेका छन् । ‘वान टिम, वान गोल जय नेपाल’ भन्ने नारासहित उनले नेपाललाई अघि सारिरहेका छन् ।