गुजरातले दियो राजस्थानलाई सिजनकै विशाल लक्ष्य, हार्दिकसहित तीन ब्याटरले गरे चौकाको वर्षा

Image

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को २४ औँ खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई १९३ रनको लक्ष्य दिएको छ । मुम्बईको डिवाइ पाटिल पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनायो ।

जारी सिजनमा गुजरातले पहिलोपटक यति विशाल लक्ष्य दिन सफल भएको हो । उसका लागि हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले । उनले ५२ बलमा आठ चौका र चार छक्कासहित अविजित ८७ रनको योगदान दिए । जारी सिजनमा पाण्ड्याको लगातार दोस्रो अर्धशतकीय पारी हो ।

आईपीएल इतिहासमा उनले पहिलोपटक लगातार दोस्रो अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै, डेविड मिलरले शानदार फिनिसिङ गरे । उनले १४ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३१ रनको आक्रामक पारी खेले । अभिनव मनोहरले २८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४३ रन जोडे ।

शुभमन गिल १३, म्याथ्यू वेड १२ र विजय शंकर दुई रनमा आउट भए । राजस्थानका लागि युजवेन्द्र चहल, कुलदीप सेन र रियान परागले एक/एक विकेट लिए । राजस्थानले एक विकेट रन आउटको रूपमा प्राप्त गर्‍यो ।

जारी लिगमा राजस्थानले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हार बेहोरेको छ । गुजरातले पनि चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हारको सामना गरेको छ ।

राजस्थानको प्लेइङ–११ : जोस बटलर, देवदत्त पाडिक्कल, सञ्जु सामसन (कप्तान र विकेटकीपर), रस्सी भान डर दुसेन, शिमरोन हेटमायर, रियान पराग, जिमी निशम, आर आश्विन, युजवेन्द्र चहल, प्रसिद्ध कृष्णा र कुलदीप सेन ।

गुजरातको प्लेइङ–११ : शुभमन गिल, म्याथ्यु वेड (विकेटकिपर), विजय शंकर, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, लकी फर्ग्युसन, मोहम्मद शामी र यश दयाल ।