काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप–२०२३ अघि तीन अभ्यास म्याच खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि अफगानिस्तान, ओमान र यमनसँग अभ्यास म्याच खेल्ने योजना रहेको जानकारी दिए ।
‘हामीले अभ्यास खेल्नका लागि तीन टिमसँग तयारी गरेका छौं,’ कोच अल्मुताइरीले भने । उनले अफगानिस्तानसँग खेल्ने कुरा ९० प्रतिशत पूरा भएको र दुई टिमसँग कुरा चलिरहेको बताए ।
नेपालले प्रस्ताव गरेकोमध्ये ओमान तुलानात्मकरूपमा बलियो टोली मानिन्छ । हाल ऊ फिफा वरियताको ७५ औं स्थानमा छ । त्यस्तै, नेपालले प्रस्ताव गरेको अर्को टोलीहरू यमन फिफा वरियताको १५१ औं र अफगानिस्तान १५० औं स्थामना छन् । हाल नेपाल फिफा वरियताको १६८ औं स्थानमा छ ।
त्यस्तै, प्रशिक्षक अलमुताइरीले नेपालले एसिया कपमा स्थान बनाउन नसके पनि कडा चुनौती भने दिने बताएका छन् । नेपाल रहेको समूह बलियो भएको उल्लेख गर्दै उनले छनोट पार गर्न असम्भव रहेको बताए ।
‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं,’ अल्मुताइरीले शुक्रबार सञ्चारकर्मीसँग भने । यद्यपि उनले टोलीको रणनीति तयार भएको र टप फाइट दिने पूरा कोसिस भने गर्ने बताए । प्रशिक्षक अल्मुताइरीका अनुसार टोली नेपालमा केही समय अभास गरेर कतारमा बन्द प्रशिक्षण गर्नेछ । अभ्यासका क्रममा स्थानीय क्लबसँग समेत म्याच हुनसक्ने उनले बताए ।
नेपालले एसिया कप छनोटको तेस्रो चरणमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । यी तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटअन्तर्गत पहिलो खेल ८ जुनमा जोर्डनविरुद्ध खेल्ने तालिका छ । दोस्रो म्याचमा नेपालले ११ जुनमा कुवेत र तेस्रो खेलमा १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।
कुवेत जानुअघि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । टोलीले बिहान दशरथ रंगशालामा र साँझ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गर्नेछ ।