काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को २५ औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबादलाई १७६ रनको लक्ष्य दिएको छ । मुम्बईको बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनायो ।
उसका लागि नितिश राणाले अर्धशतीय पारी खेले । उनले ३६ बलमा ६ चौका र दुई छक्कासहित ५४ रन बनाए । त्यस्तै, आन्द्रे रसेलले २५ बलमा चार चौका र चार छक्कासहित अविजित ४९ रनको योगदान दिए । उनले उत्कृष्ट फिनिसिङ गरे ।
अन्तिम ओभरमा रसेलकै उत्कृष्ट ब्याटिङमा केकेआरले १७ रन जोड्न सफल भयो । कप्तान श्रेयस अय्यरले २५ बलमा २८ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
हैदराबादका लागि टी नटराजनले तीन, उर्मान मलिकले दुई, मार्को जेनसन, भुवनेश्वर कुमार र जगदीश सूचितले एक/एक विकेट लिए ।
फिन्चले रचे इतिहास
कोलकाताबाट आईपीएल खेलिरहेका अष्ट्रेलियन ब्याटर आरोन फिन्चले इतिहास रचेका छन् । उनले सर्वाधिक टिमबाट आईपीएल खेल्दै इतिहास रचेका हुन् । फिन्चले आज केकेआरबाट डेब्यू गरेसँगै विभिन्न ९ टिमबाट आईपीएल खेलेका हुन् ।
हालसम्म उनले केकेआरबाहेक आरसिबी, हैदराबाद, राजस्थान, पुणे, पञ्जाब, दिल्ली, गुजरात र मुम्बईबाट आईपीएल खेलिसकेका छन् । केकेआरको डेब्यू खेलमा फिन्चले ५ बलमा एक छक्कासहित ७ रन मात्र बनाउन सके । उनी एलेक्स हेल्सको स्थानमा केकेआरमा जोडिएका हुन् ।