कोलकातामाथि हैदराबादको फराकिलो जित, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले लगातार तेस्रो जित हासिल गरकेो छ । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई ७ विकेटले हराउँदै हैदराबादले लगातार तेस्रो जित हासिल गरेको हो ।

उसले अघिल्लो खेलहरूमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सलाई आठ/आठ विकेटले हराएको थियो । आफ्नो पाँचौं खेलमा कोलकाताले दिएको १७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि राहुल त्रिपाठी र एडेन मार्कमले आक्रामक पारी खेले ।

त्रिपाठीले ३७ बलमा ६ छक्का र चार चौकासहित ७१ तथा मार्कमले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतमा अविजित ६८ रन बनाए । कप्तान केन विलियम्सन १७ र अभिषेक शर्मा तीन रनमा आउट भए । निकोलस पूरन पाँच रनमा अविजित रहे । कोलकाताका लागि आन्द्रे रसेलले दुई र प्याट कमिन्सले एक विकेट लिए ।

त्यसअघि मुम्बईको बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनायो । उसका लागि नितिश राणाले अर्धशतीय पारी खेले । उनले ३६ बलमा ६ चौका र दुई छक्कासहित ५४ रन बनाए ।

त्यस्तै, आन्द्रे रसेलले २५ बलमा चार चौका र चार छक्कासहित अविजित ४९ रनको योगदान दिए । उनले उत्कृष्ट फिनिसिङ गरे । अन्तिम ओभरमा रसेलकै उत्कृष्ट ब्याटिङमा केकेआरले १७ रन जोड्न सफल भयो । कप्तान श्रेयस अय्यरले २५ बलमा २८ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । हैदराबादका लागि टी नटराजनले तीन, उर्मान मलिकले दुई, मार्को जेनसन, भुवनेश्वर कुमार र जगदीश सूचितले एक/एक विकेट लिए ।

यो जितसँगै हैदराबाद अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । त्यस्तै, कोलकाताले ६ मध्ये तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

त्यस्तै, गुजरात शीर्षमा, राजस्थान दोस्रोमा, पञ्जाब तेस्रोमा, लखनउ पाँचौंमा, बैंग्लोर छैटौंमा, दिल्ली आठौँमा, चेन्नई नवौं र मुम्बई दशौँ स्थानमा छन् ।