विश्वकप लिग-२ मा ओमानविरुद्ध स्कटल्याण्डको रोमाञ्चक जित, अंक तालिका गर्‍यो सुधार

Image

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा स्टकल्याण्डले ओमानलाई २ विकेटले हराएको छ । गएराति भएको खेलमा ओमानले दिएको २२६ रनको लक्ष्य स्कटल्याण्डले ४९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि रिची बेरिङ्टनले ११० बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ७१ रन बनाए । त्यस्तै, जर्ज मुन्सेले ४३, मार्क वाटले अविजित ३७, माइकल लीस्कले २१ र सफायन शरिफले १७ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

ओमानका लागि बिलाल खान, कलिमुल्लाहले तीन/तीन, खावर अली र अयान खानले एक/एक विकेट हात पारे । त्यसअघि दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२५ रन बनायो ।

उसका लागि कश्यप प्रजापतिले उत्कृष्ट पारी खेले । उनले १०६ बलमा ९ चौकासहित ८१ रन बनाए । त्यस्तै, मोहम्मद नदीमले अविजित ५३, नसीम खुशीले २९, खावर अलीले २५ र कप्तान जीशान मक्सूदले १६ रनको योगदान दिए । स्कटल्याण्डका माइकल लीस्कले तीन, आन्द्रेन नीलले दुई, सफायन शरिफ र मार्क वाटले एक/एक विकेट लिए ।

यो जितसँगै स्कटल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले १६ म्याच खेल्दा ११ मा जित र तीन खेलमा मात्र हार बेहोरेको छ । स्कटल्याण्डले दुई खेलमा भने अंक बाँडेको छ । त्यस्तै, ओमानले ३१ म्याच खेल्दा १८ मा जित र ११ खेलमा हारको सामना गरेको छ ।

उसले पनि दुई खेलमा अंक बाँडेको छ । ओमान ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै, नेपाल तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ म्याच खेल्दा ६ मा जित र ६ खेलमा हार बेहोरेको छ ।

प्रतियोगितामा नेपाल सर्वाधिक कम म्याच खेल्ने टोली हो । नेपालपछि कम म्याच खेल्ने टोली नामिबिया हो । उसले १४ म्याच खेल्दा सातमा जित र सात खेलमा हार बेहोरेको छ । त्यस्तै, यूएई तेस्रो, नामिबिया चौथो, अमेरिका पाँचौं र पिएनजी अंक तालिकाको सातौँमा स्थानमा छन् । शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष हुने विश्वकप छनोट खेल्न पाउने छन् ।