रैना चेन्नईमा फर्कने सम्भावना, लिन सक्छन् यी खेलाडीको स्थान

Image

काठमाडौं ।

लोकप्रिय क्रिकेटर सुरेश रैना चेन्नई सुपर किंग्स (सिएसके) मा फर्किने सम्भावना बढेको छ । आईपीएलको १५ औं सिजनबाट दीपक चाहर बाहिरिएपछि उनी चेन्नईमा फर्किने सम्भावना बढेको हो । स्रोतका अनुसार रैनासँग यस विषयमा छलफल भइरहेको छ । यद्यपि निर्णय आउन बाँकी छ ।

आईपीएल मोग अक्सनमा २ करोड बेस प्राइस राखेका रैनालाई कुनै पनि टिमले अनबुन्ध गरेको थिएन । उनी गत सिजनसम्म चेन्नईको हिस्सा थिए । तर, मेगा अक्सनमा भने रैनालाई चेन्नईले पनि चासो देखाएन ।

यसकारण चेन्नईमा फर्कन सक्छन् रैना

जारी सिजनमा सिएसकेले पाँच म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ । चेन्नईको प्रदर्शन उत्कृष्ट नहुनुको कारण मध्यक्रमका ब्याटरको कमजोर प्रदर्शन पनि मुख्य रह्यो । विशेष गरी अम्बाती रायडूले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् ।

उनले अहिलेसम्म ५ खेलमा २०.५० को औसतमा ८२ रन मात्र बनाएका छन् । त्यसकारण रायडूको खराब प्रदर्शनलाई मध्यनजर गर्दै चेन्नईले दीपकको स्थानमा रैनालाई अनुबन्ध गर्न सक्छ ।

रैना आईपीएल इतिहासमा उत्कृष्ट प्रदर्शन गर्ने ब्याटरमध्ये एक हुन् । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । रैनाले २०५ खेलमा ३२.५१ को औसत र १३६.७६ को स्ट्राइक रेटमा ५५२८ रन बनाएका छन् ।

उनले आईपीएलमा एक शतक र ३९ अर्धशतक पनि बनाएका छन् । उनले हालसम्म आईपीएलमा ५०६ चौका र २०३ छक्का हिर्काएका छन् । शानदार आईपीएल करियर बनाएका रैनालाई एकपटक चेन्नईले अवसर दिन सक्छ ।

चाहरले चोटका कारण सुरुका खेल खेल्न सकेनन् । उनी आइपिएलको बीचमा फर्किन सक्ने विश्वास थियो । तर, राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यासका क्रममा चाहरलाई फेरि चोट लाग्यो । त्यसपछि भने उनले आईपीएलको पूरा सिजन गुमाउने भएका छन् । चाहरलाई मेगा अक्सनमा चेन्नईले १४ करोड भारुमा किनेको थियो ।