अष्ट्रेलियाका लागि टी–२० मा सर्वाधिक विकेट विकेट लिने पाँच बलर

Image

काठमाडौं ।

अष्ट्रेलिया अहिलेको उत्कृष्ट टिममध्ये एक हो । हाल अष्ट्रेलिया आईसीसी टेष्ट वरियताको शीर्ष स्थानमा छ । ऊ एकदिवसीयतर्फ तेस्रो र टी–२० वरियताको भने छैटौं स्थानमा छ ।

पछिल्लो संस्करणको टी–२० विश्वकप जिते पनि अष्ट्रेलियाले टी–२० वरियतामा भने सुधार गर्न चुकिरहेको छ । हालसम्म अष्ट्रेलियाले कयौं स्टार क्रिकेटर जन्म दिएको छ । अष्ट्रेलियाका खेलाडी आईपीएलदेखि विभिन्न लिगमा प्रमुख रोजाईमा पर्दै आएका छन् । यसैबीच, आज हालसम्म अन्तर्राष्ट्रिय टी-२० मा सर्वाधिक विकेट लिने ५ अष्ट्रेलियन बलरको चर्चा गर्दैछौँ  :

१. एडम जम्पा : यो सूचीको शीर्ष स्थानमा स्पिनर एडम जम्पाको नाम आउँछ । उनी अहिले पनि सीमित ओभरको क्रिकेटमा अष्ट्रेलिया टिमका महत्वपूर्ण प्रमुख स्पिनर हुन् ।

जम्पाले हालसम्म अष्ट्रेलियाका लागि ६२ म्याचको ६१ इनिङ्स खेलेका छन् । जसमा उनले ६.७९ को इकोनमीमा सर्वाधिक ७१ विकेट हात पारेका छन् । अन्तर्राष्ट्रिय टी–२० मा जम्पाको उत्कृष्ट बलिङ प्रदर्शन १९ रन दिएर ५ विकेट लिनु हो ।

२ मिचेल स्टार्क : यो सूचीको दाेस्रो स्थानमा मिचेल स्टार्कको नाम आउँछ । उनी वर्तमान विश्व क्रिकेटका स्टार बलरमध्ये एक हुन् । स्टार्कले अष्ट्रेलियाका लागि ५० म्याचमा ७.५७ को इकोनमीमा ६० विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा उनको उच्च प्रदर्शन ११ रन दिएर ३ विकेट लिनु हो ।

३. शेन वाट्सन : क्रिकेटबाट संन्यास लिइसकेका स्टार अलराउन्डर शेन वाट्सन यो सूचीको तेस्रो स्थानमा छन् । सुरुवातमा उनी ब्याटरभन्दा बलरको रूपमा परिचित थिए । तर, विस्तारै उनी ब्याटरको रूपमा चिनिन थाले ।

वाट्सनले अष्ट्रेलियाका लागि २००६ देखि २०१६ सम्म टी–२० क्रिकेट खेले । त्यसक्रममा उनले ५८ म्याचको ४९ इनिङ्समा ७.६५ को इकोनमीमा ४८ विकेट लिए ।

४. एन्ड्रयू टाय : अष्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय टी–२० मा सर्वाधिक विकेट लिने सूचीको चौथो स्थानमा तीव्र गतिका बलर एन्ड्रयू टाय छन् । उनले हालसम्म ३२ म्याचमा ८.७५ को इकोनमीमा ४७ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय टी–२० मा टायको उच्च प्रदर्शन २३ रन दिएर ४ विकेट लिनु हो । उनले हालसम्म ११३.५ ओभर बलिङ गर्दा ९९७ रन खर्चिएका छन् ।

५. एश्टन अगर : यो सूचीको पाँचौं स्थानमा अलराउन्डर एश्टन अगरको नाम आउँछ । उनले ४३ खेलमा ६.५० को उत्कृष्ट इकोनमीमा ४६ विकेट लिएका हुन् । टी–२० मा उनको उच्च प्रदर्शन ३० रन दिएर ६ विकेट लिनु हो । अगरले टी–२० मा अष्ट्रेलियामा ह्याट्रिकसमेत लिइसकेका छन् ।