काठमाडौं ।
आईपीएल २०२२ मा पाँचपटकको विजेता मुम्बई इण्डियन्सले यति खराब प्रदर्शन गर्ला भनेर कमैले आँकलन गरेका थिए । तर, मुम्बईले यसपाली धेरैले आँकलन नगरेकै भयो । अर्थात् ऊ जारी सिजनमा पाँच म्याच खेल्दा सबैमा पराजित हुन पुग्यो ।
मुम्बईले आईपीएल इतिहासमा दोस्रोपटक यति खराब प्रदर्शन गरेको हो । यसअघि उसले सन् २०१४ मा सिजनको पहिलो पाँच खेलमा लगातार हार बेहोरेको थियो । फेरि मुम्बईले आठ वर्षअघिको खराब लय समातेको छ । यद्यपि, सो सिजनमा भने उत्कृष्ट कमब्याक गर्दै ऊ प्लेअफमा पुग्न सफल भएको थियो ।
फेरि यसपटक मुम्बईले सोही उत्कृष्ट कमब्याक लय दोहोर्याउनेमा मुम्बईका समर्थक आशावादी छन् । पाँच खेल लगातार हारे पनि मुम्बईको प्लेअफ पुग्ने सम्भावना भने जीवितै छ । आफ्नो छैटौं म्याच खेल्नुअघि मुम्बई अंक तालिकाको पुछारमा छ ।
हाल उसको नेट रनरेट –१.०७२ छ । जुन यस सिजनको सबैभन्दा खराब हो । नकारात्मक रन रेट भएका अन्य टोलीहरू सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स हुन् । तर, उनीहरूले जित हासिल गरिसकेका छन् ।
मुम्बईले प्रतियोगितामा अब ९ खेल खेल्न बाँकी छ । र, प्लेअफमा पुग्न कम्तिमा ८ खेल जित्न आवश्यक छ । २०११ को सिजनमा पनि १० टिमले भाग लिएका थिए । जहाँ कोलकाता नाइट राइडर्स (केकेआर) १६ अंकका साथ प्लेअफमा पुगेको थियो । उसको नेट रनरेट ०.४३३ रहेको थियो ।
यस्तो अवस्थामा यसपाली मुम्बईले पनि कम्तिमा आठ खेल जित्नुपर्नेछ । र, उसले आफ्नो नेट रनरेट पनि राम्रो राख्नुपर्नेछ । यदि ७ म्याच मात्र जिते भने चाहिँ प्लेअफ पुग्ने मुम्बईको सम्भावना लगभग समाप्त हुनेछ ।
मुम्बईले आफ्नो छैटौं खेलमा शनिबार लखनउ सुपर जायट्सविरुद्ध खेल्दैछ । प्लेअफ पुग्ने सम्भावना जीवितै राख्न अब मुम्बईले हरेक खेल जित्नुपर्ने हुन्छ । टिमका रहेका कप्तान रोहित शर्मा, किरण पोलार्ड, जसप्रित बुहराहलगायत अनुभवी खेलाडी लयमा नदेखिँदा मुम्बईले जित निकाल्न सकिरहेको छैन ।