मुम्बई भर्सेस लखनउ : कुन टिमले जित्ला? यस्तो छ शोएब अख्तरको भविष्यवाणी

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज भइरहेको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध मुम्बई इण्डियन्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल मुम्बईस्थित बेर्बोन स्टेडियममा भइरहेको हो ।

जारी सिजनमा मुम्बईले पाँच म्याच खेल्दा जित हात पार्न सकेको छै । आजको खेल हारे भने ऊ प्लेअफ दौडबाट लगभग बाहिरिनेछ । यसैबीच, मुम्बई र लखनउको म्याचअघि पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तरले भविष्यवाणी गरेका छन् । उनले आजको खेलमा मुम्बईले लखनउलाई हराउने भविष्यवाणी गरेका हुन् ।

‘मुम्बई इन्डियन्स टोलीले लखनउ सुपर जाइन्ट्सलाई हराउनेछ भन्ने मेरो अनुमान छ । मुम्बई सुरुमा चार/पाँच खेल नहार्दासम्म उठ्दैन । यो एक टोली हो जुन पछाडिबाट आउँछ र पुनरागमन गर्दछ । पछिल्ला धेरै आईपीएल सिजनहरू यसको सबैभन्दा ठूलो उदाहरण हुन् । मेरो भविष्यवाणी मुम्बईको टोलीले राम्रो गर्नेछ । उनको व्यवस्थापन एकदमै राम्रो छ,’ शोएबले स्पोर्ट्सकीडासँगको कुराकानीमा भनेका छन् ।

प्लेअफ पुग्ने सम्भावना जीवितै राख्न अब मुम्बईले हरेक खेल जित्नुपर्ने हुन्छ । टिमका रहेका कप्तान रोहित शर्मा, किरण पोलार्ड, जसप्रित बुहराहलगायत अनुभवी खेलाडी लयमा नदेखिँदा मुम्बईले जित निकाल्न सकिरहेको छैन ।

मुम्बई यसरी पुग्नसक्छ प्लेअफमा?

मुम्बईले आईपीएल इतिहासमा दोस्रोपटक लगातार पाँच खेले हारेकाे हाे । यसअघि उसले सन् २०१४ मा सिजनको पहिलो पाँच खेलमा लगातार हार बेहोरेको थियो । फेरि मुम्बईले आठ वर्षअघिको खराब लय समातेको छ । यद्यपि, सो सिजनमा भने उत्कृष्ट कमब्याक गर्दै ऊ प्लेअफमा पुग्न सफल भएको थियो ।

फेरि यसपटक मुम्बईले सोही उत्कृष्ट कमब्याक लय दोहोर्याउनेमा मुम्बईका समर्थक आशावादी छन् । पाँच खेल लगातार हारे पनि मुम्बईको प्लेअफ पुग्ने सम्भावना भने जीवितै छ । आफ्नो छैटौं म्याच खेल्नुअघि मुम्बई अंक तालिकाको पुछारमा छ ।

हाल उसको नेट रनरेट –१.०७२ छ । जुन यस सिजनको सबैभन्दा खराब हो । नकारात्मक रन रेट भएका अन्य टोलीहरू सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स हुन् । तर, उनीहरूले जित हासिल गरिसकेका छन् ।

मुम्बईले प्रतियोगितामा अब ९ खेल खेल्न बाँकी छ । र, प्लेअफमा पुग्न कम्तिमा ८ खेल जित्न आवश्यक छ । २०११ को सिजनमा पनि १० टिमले भाग लिएका थिए । जहाँ कोलकाता नाइट राइडर्स (केकेआर) १६ अंकका साथ प्लेअफमा पुगेको थियो । उसको नेट रनरेट ०.४३३ रहेको थियो ।

यस्तो अवस्थामा यसपाली मुम्बईले पनि कम्तिमा आठ खेल जित्नुपर्नेछ । र, उसले आफ्नो नेट रनरेट पनि राम्रो राख्नुपर्नेछ । यदि ७ म्याच मात्र जिते भने चाहिँ प्लेअफ पुग्ने मुम्बईको सम्भावना लगभग समाप्त हुनेछ ।