काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को २६ औं खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इण्डियन्सलाई २०० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो ।
उसका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले । उनले ६० बलमा नौ चौका र पाँच छक्कासहित अविजित १०३ रन बनाए । आईपीएलमा राहुलको यो तेस्रो शतक हो । जारी सिजनमा शतक बनाउने भने उनी दोस्रो ब्याटर हुन् । यो संस्करणमा राजस्थान रोयल्सका जोस बटलरले पनि शतक बनाइसकेका छन् ।
आईपीएलमा मुम्बईविरुद्ध राहुलको यो दोस्रो शतक हो । त्यस्तै, उनले आईपीएलमा कीर्तिमान पनि बनाएका छन् । राहुलले आफ्नो १०० औं आईपीएल खेलमा शतक बनाउने पहिलो ब्याटर बन्दै कीर्तिमान बनाएका हुन् । यसअघि आईपीएलमा यो कीर्तिमान कुनै पनि ब्याटरले बनाएका थिएनन् ।
त्यस्तै, मनिष पाण्डेले ३१, क्विटन डिककले २४, दीपक हूडाले १५ र मार्कस स्टोइनिसले १० रनको योगदान दिए । मुम्बईका लागि जयदेव उनादकटले दुई, फाबियन आलेन र मुर्गन आश्विलले एक/एक विकेट लिए ।
जारी सिजनमा मुम्बईले पाँच म्याच खेल्दा सबैमा हार बेहोरेको छ । ऊ पहिलो जितको खोजीमा छ । प्लेअफ सम्भावनालाई कायमै राख्न मुम्बईले आजको खेल जित्नैपर्ने हुन्छ । लखनउले पाँच्मध्ये तीनमा जित र दुई खेलमा हारको सामना गरेको छ ।