नेपाल एसियन कपमा छनोट हुने सम्भावना कति? यस्तो भन्छन् टिमका महत्वपूर्ण खेलाडी

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदैछ । आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ । कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको आशा राखेको छ ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट हुन सक्दैनौँ भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् । टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए ।

सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको टिमका महत्वपूर्ण सदस्य सुजल श्रेष्ठले बताए । यस्तै, विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलियाे टोलीविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिए ।

लामो समयसम्म चोटका कारण मैदान बाहिर रहेका नवयुग श्रेष्ठ पनि टोलीमा फर्किएका छन् । चोटलाई भुलेर राम्रो खेल्न अवसर एएफसी एसियन कप छनोट प्रतियोगितामा भएको उनले बताए ।

छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन । यस्तै, ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन् । नेपाल रहेको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन रहेका छन । बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ ।