आईपीएलमा मुम्बईको इतिहासकै खराब प्रदर्शन, लखनउको जितले रोमाञ्चक बन्यो अंक तालिका

Image

काठमाडौं ।

पाँचपटकको विजेता मुम्बई इण्डियन्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौं खेलमा हार बेहोरेको छ । उसले आफ्नो छैटौं खेलमा आज लखनउ सुपर जायट्सविरुद्धविरुद्ध १८ रनले हार बेहोर्यो । योसँगै प्लेअफ पुग्ने मुम्बईको सम्भावना निकै कमजोर बनेको छ ।

छैटौं खेलमा लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । उसका लागि सूर्यकुमार यादवले ३७, डेवाल्ड ब्रेभिसले ३१, तिलक वर्माले २६, किरण पोलार्डले २५, जयदेव उनादकटले १४ र इशान किशनले १३ रन बनाए ।

लखनउका लागि बलिङमा आवेश खानले तीन, रवि विश्नोई, मार्कस स्टोइनिस, दुश्मन्था चामेरा र जेसन होल्डरले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो । उसका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले ।

उनले ६० बलमा नौ चौका र पाँच छक्कासहित अविजित १०३ रन बनाए । आईपीएलमा राहुलको यो तेस्रो शतक हो । जारी सिजनमा शतक बनाउने भने उनी दोस्रो ब्याटर हुन् । यो संस्करणमा राजस्थान रोयल्सका जोस बटलरले पनि शतक बनाइसकेका छन् ।

आईपीएलमा मुम्बईविरुद्ध राहुलको यो दोस्रो शतक हो । त्यस्तै, मनिष पाण्डेले ३१, क्विटन डिककले २४, दीपक हूडाले १५ र मार्कस स्टोइनिसले १० रनको योगदान दिए । मुम्बईका लागि जयदेव उनादकटले दुई, फाबियन आलेन र, मुर्गन आश्विलले एक/एक विकेट लिए ।

आजको जितसँगै लखनउ दोस्रो स्थानमा उक्लिएको छ । अंकविहीन मुम्बई भने तालिकाको पुछारमा छ । त्यस्तै, गुजरात शीर्षमा राजस्थान दोस्रो, पञ्जाब चौथो, कोलकाता पाँचौँ, बैंग्लोर छैटौँ, हैदराबाद सातौँ, दिल्ली आठौँ र चेन्नई नवौँ स्थानमा छन् ।